कांग्रेस हुनुमा गर्ब मान्नुस, गठबन्धन जरुरी छैन-बालकृष्ण खाँड

घरसञ्चार
दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले नेपाली कांग्रेस अन्य दलहरुको पनि अभिभावकत्व लिने सक्ने क्षमता भएको पार्टी रहेको बताए ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले दाङको लमहीमा आयोजना गरेको पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खाँडले नेपाली कांग्रेस निर्वाचनका बेला आफ्नै बलबुतामा पनि चुनाव लड्न सक्ने बताए । केन्द्रीय सदस्य खाँडले भने-`चारैतिर गठबन्धनका कुरा सुन्छु, गठबन्धन कुनै विषय नै होइन र यसका पछि लाग्नु पनि हुँदैन’- जनताको चाहाना र भावना कसरी पूरा गर्ने ? जनताको कांग्रेसप्रती छाएको निराश्यतालाई कसरी कम गर्न सकिन्छ भन्ने अहिलेको मुलभूत कुरा हो र सबै तह र तप्कामा रहेका हामीले यो कुरा बुझ्न जरुरी छ’।

उनले काङ्ग्रेसलाई देशकै पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने दावी गरे । नेपाली कांग्रेसले निर्वाचन हारेमा प्रजातन्त्र समाप्त हुन सक्छ, कांग्रेसले देशको नेतृत्व गरिसकेपछि देशमा धेरै विकास भएको छ, यो कुरा हामीले जनतालाई बुझाउन जरुरी छ”- नेता खाँडले थपे ।`कांग्रेस भएकोमा सबैले गर्व गर्नुपर्छ, हामीले सहि पार्टी रोज्दै गर्दा पनि जनता र कार्यकर्तालाई सहि परिणाम दिन नसक्नु चिन्ताको विषय हो’- उनले भने । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का उपसभापति दिनेश गिरीले स्वागत मन्तव्य राखेका थिए भने अर्का उपसभापति श्रीपद चौधरीले धन्यवाद ज्ञापन गरे । सचिव खेमलाल चौधरीले कार्यक्रमको संचालन गरेका थिए ।
