देउखुरीमा बस-अटो ठोक्किँदा दुई महिनाकी शिशुसहित दुई जनाको मृत्यु
घरसञ्चार
दाङ । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिनाकी शिशुसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन् । प्रहरीका अनुसार प्युठानबाट लमही बजार आएर पुनः प्युठान फर्किने क्रममा लमही नगरपालिका–३ मजगाउँ चोकमा दुर्घटना भएको हो । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको यात्रुवाहक बस एकआपसमा ठोक्किएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पूर्वतर्फ जाँदै गरेको ट्रकलाई अटोले उछिनेर अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा लमहीतर्फ आउँदै गरेको बससँग ठोक्किएको हो । दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका-५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् । घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस तथा चालकका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


