हरियो लमही, शितल लमही अभियान सुरु हुँदै-नगरभित्र २,५०० पिपल रोप्ने तयारी
शिव राज खनाल
दाङ, ७ असार । दाङको लमही नगरपालिका-५ का स्थानीय तथा व्यवसायी केपी घिमिरेले नगरलाई हराभरा, शितल र वातावरणमैत्री बनाउने उद्देश्यसहित “हरियो लमही, शितल लमही” अभियान सुरु गर्ने घोषणा गरेका छन् । अभियान अन्तर्गत नगरभित्र कम्तीमा २ हजारदेखि २ हजार ५ सयसम्म पिपलका बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।
पछिल्ला केही वर्षयता बढ्दो सहरीकरण, वनस्पति क्षेत्रको कमी तथा जलवायु परिवर्तनका कारण बजार तथा आसपासका क्षेत्रमा गर्मीको प्रभाव बढ्दै गएको स्थानीयहरूको अनुभव छ । विशेषगरी सडक विस्तार र पूर्वाधार निर्माणका क्रममा वर्षौँदेखि रहेका बर-पिपलका पुराना रुखहरू हटाइँदा स्थानीय तहमा चिन्ता र चासो बढ्दै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै केपी घिमिरेले नगरलाई दीर्घकालीन रूपमा शितल, स्वच्छ र बस्नयोग्य बनाउने उद्देश्यले पिपल वृक्षारोपण अभियान अगाडि सारेका हुन् ।
घिमिरेका अनुसार पिपल धार्मिक तथा सांस्कृतिक दृष्टिले मात्र होइन, वातावरणीय सन्तुलन कायम गर्न पनि महत्वपूर्ण मानिन्छ । यसले बाक्लो छाया प्रदान गर्ने, वायुमण्डललाई चिसो राख्न सहयोग गर्ने र हरियाली विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यद्यपि, पिपलको जरा बलियो र फैलिने भएकाले सडक, ढल तथा भवन संरचनामा असर नपर्ने गरी योजनाबद्ध रूपमा वृक्षारोपण गर्नुपर्ने सुझाव पनि अभियानले अघि सारेको छ। तेति धेरै वर र पिपलका बिरुवा कहाँ बाट प्राप्त गर्ने बारेमा अन्य संग सरसल्लाह भइरहेको घिमिरेको भनाइ छ ।
अभियान अन्तर्गत सार्वजनिक खुला क्षेत्र, पार्क, नदी तथा खोलाका किनारा, विद्यालय परिसर, स्वास्थ्य चौकीका खुला स्थान तथा वडास्तरका खाली ऐलानी जग्गामा वृक्षारोपण गर्ने प्रस्ताव गरिएको छ । मुख्य सडकबाट सुरक्षित दूरी कायम गरी चौतारी तथा ‘अक्सिजन पार्क’ निर्माणको अवधारणा पनि अघि सारिएको छ । स्थानीय सरकार लमही नगरपालिकासँग आगामी नीति, कार्यक्रम तथा बजेटमार्फत कम्तिमा “एक वडा-२०० पिपल” वा “हरियाली लमही अभियान” जस्ता कार्यक्रम समेट्न आग्रह गरिएको छ ।
नगरपालिका तथा बन कार्यलयले बिरुवा व्यवस्थापन गर्ने र संरक्षणको जिम्मेवारी टोल विकास संस्था तथा स्थानीय क्लबहरूलाई दिने मोडल प्रभावकारी हुने अभियानकर्ताको भनाइ छ । स्थानीयवासीहरूका अनुसार विकास भनेको केवल कंक्रिट संरचना निर्माण मात्र नभई वातावरण संरक्षण, स्वच्छ हावा र भावी पुस्ताका लागि हरियाली संरक्षण पनि हो भनी बताइएको छ । अभियानकर्ताहरूले लमहीलाई भविष्यमा लुम्बिनी प्रदेशकै सबैभन्दा शितल र हरियो नगर बनाउने लक्ष्यसहित सबै नगरवासीलाई अभियानमा सहभागी हुन आह्वान तथा आग्रह समेत गरिएको छ ।






