समृद्ध गढवाको आधार तय गर्दै नीति तथा कार्यक्रम प्रस्तुत, कृषि र पूर्वाधार उच्च प्राथमिकतामा
आलोक भावुक
गढवा, ५ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाको गाउँसभाको १९ औँ अधिवेशन अन्तर्गत आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो ।
अध्यक्ष पोख्रेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध गढवा निर्माण गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ । गाउँपालिकाले आगामी वर्ष कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, युवालाई स्वरोजगार तथा उद्यमशीलतामा जोड दिने नीति अवलम्बन गर्ने जनाएको छ । नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले कृषि, पशुपालन तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव पूँजी विकास, स्वास्थ्य, पोषण तथा सामाजिक सुरक्षा, युवा विकास, खेलकुद तथा प्रतिभा प्रवर्द्धन, रोजगार, उद्यमशीलता तथा सीप विकास, उद्योग, व्यापार तथा सहकारी विकास, पर्यटन, कला, संस्कृति तथा सम्पदा संरक्षण, सुशासन, डिजिटल रूपान्तरण तथा सेवा प्रवाह सुधार, पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा सामाजिक न्याय र राजस्व सुदृढीकरण तथा संस्थागत क्षमता विकास लाई प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको छ ।

गाउँपालिकाले कृषि उत्पादनमा आधुनिकीकरण, व्यवसायीकरण तथा बजार व्यवस्थापनमा जोड दिँदै कृषकको आयस्तर वृद्धि गर्ने योजना अघि सारेको छ। शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण सिकाइ तथा मानव पूँजी विकासमा लगानी बढाइने नीति लिइएको छ । त्यस्तै स्वास्थ्य तथा पोषण क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । युवालाई सीपमूलक तालिम, स्वरोजगार तथा उद्यम विकासका कार्यक्रममार्फत उत्पादनशील क्षेत्रमा आबद्ध गराउने नीति लिइएको छ भने स्थानीय उद्योग, व्यापार र सहकारी क्षेत्रलाई प्रवर्द्धन गरी आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ ।
पर्यटन, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय पहिचान स्थापित गर्ने कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समेटिएको छ । यसैगरी गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको छ। सडक, पुल, भवन, खानेपानी तथा सरसफाइ लगायतका पूर्वाधार निर्माणलाई निरन्तरता दिइने भएको छ । वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् व्यवस्थापनका कार्यक्रमलाई पनि विशेष महत्व दिइएको छ ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सदस्य सचिव कृष्ण प्रसाद पौड्याल, वरिष्ठ लेखा अधिकृत खिमलाल वली, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, पत्रकार, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । गाउँसभाको अर्को बैठक असार ७ गते बस्ने तय भएको छ। उक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट, योजना तथा कार्यक्रममाथि थप छलफल गरी आवश्यक निर्णय गरिने गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले जानकारी दिनुभयो ।






