ओभरलोड बोकेका भारतिय ट्रक कारबाहीमा
शिवु खनाल
दाङ, २८ जेठ । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी संघ समिति दाङले एकै दिनमा तीन वटा भारतीय (टेलर) ट्रकलाई कारबाही गरेको छ ।
कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकाशं भारतीय मालबाहक सवारी साधनले भारवाहन क्षमता भन्दा दोव्वर लोड सहित नेपाल भित्रिने गरेको पाइएको हो । बुधबार राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी संघ समिति दाङ र अस्थायी ट्राफिक प्रहरी पाेष्ट लमहीले संयुक्तरूपमा गरेको चेकजाँचकाे क्रममा अत्याधिक भारवाहन सहित तिनवटा भारतीय ट्रकलाई नियन्त्रणमा लिइ भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ अनुसार आवश्यक कार्वाहीकाे लागि यातायात व्यवस्था कार्यालय तुलसीपुर पठाइएको थियो ।
तुलसीपुर यातायात व्यवस्था कार्यालयले ति भारतीय ट्रकलाई प्रति ट्रक दश हजारका दरले जरिवाना गरेको जनाएको छ । भारतबाट नेपाल भित्रिने अधिकाशं भारतीय मालवाहक सवारी अत्याधीक भारवाहनको हुने गरेको पाइएको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी संघ समिति दाङका काेषाध्यक्ष हिमन्त प्रसाद पाण्डेले बताए । उनले बढी भार बोक्ने सवारी साधनलाई कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए । क्षमता भन्दा बढी लोड बोकेका ट्रकले सडकलाई क्षति गर्ने र साना तथा मझौला सवारी साधन सञ्चालनमा समस्या हुने भन्दै यातयात व्यवसायीहरुले ओभरलोड गाडी नियन्त्रण गर्न सरकारसँग माग गर्दै आइरहेका छन् ।।






