मासिक ४ लाख आम्दानी गर्दै ड्राइभर पेसामा संघर्षरत कृष्ण गुरुङको सन्देश-“सीप सिकेर मात्र विदेश आउनु”
शिवराज खनाल
बैशाख २८, क्रोसिया । धादिङको निलकण्ठ नगरपालिका–२ भुलभुले निवासी ४७ वर्षीय कृष्ण गुरुङ अहिले क्रोसियामा ड्राइभर पेसामार्फत मासिक करिब ४ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।
करिब पाँच वर्षअघि रोजगारीको सिलसिलामा क्रोसिया पुगेका गुरुङ अहिले त्यहाँको एक कम्पनीमा कामदारहरूको वसारपसार गर्ने जिम्मेवारी सम्हालिरहेका छन् । दैनिक रूपमा कम्पनीका कामदारलाई कार्यस्थलसम्म पुर्याउने र ल्याउने काम गर्दै आएका गुरुङले मेहनत, अनुशासन र अनुभवका कारण राम्रो आम्दानी गर्न सफल भएको बताउँछन् । क्रोसिया पुगेपछि उनले नेपाली ड्राइभिङ लाइसेन्सलाई युरोपेली लाइसेन्समा परिवर्तन गर्न करिब ३०० युरो खर्च गरेको बताए ।
नेपाली रुपैयाँमा यो रकम करिब ३५ हजार रुपैयाँ बराबर पर्छ । वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरूका लागि यो प्रक्रिया महत्वपूर्ण हुने उनको अनुभव छ । विदेशमा देखिने चमकधमक सबैका लागि समान नहुने भन्दै गुरुङले युवाहरूलाई स्पष्ट सन्देश दिएका छन् । उनले भने, “सकेसम्म आफ्नै देशमा केही काम गरेर बस्नुपर्छ । यदि विदेश जानै परे कुनै न कुनै सीप सिकेर मात्रै आउनुहोस्, नत्र पराइ देशमा धेरै दुःख पाइन्छ ।” उनका अनुसार युरोप पुगेपछि सबैको जीवन सहज नहुने र थोरै मानिस मात्र राम्रो अवस्थामा पुग्ने गरेका छन् । धेरै नेपालीहरूले अपेक्षा गरेजस्तो सफलता नपाउने गरेको उनले आफ्नै अनुभव सुनाए । विदेशमा संघर्ष गर्दै सफलता हासिल गरिरहेका गुरुङको अनुभव र सन्देश अहिले वैदेशिक रोजगारीको तयारीमा रहेका युवाहरूका लागि महत्वपूर्ण सन्देश बन्न सक्ने अनुमान गरिएको छ ।






