बाबु-आमालाई एउटै थलोमा राख्ने चाहना: २५ बर्षअघिको कंकाल खोजी, पुन:अन्तिम भेट

टेकबहादुर पुन

दाङ । दाङको लमही नगरपालिका–७ बनघुस्री खुटीमा एक अत्यन्तै भावुक, अनौठो र सांस्कृतिक दृष्टिले महत्वपूर्ण घटना सार्वजनिक भएको छ ।

श्रीमतीसँगै छेवैमा गाड्ने उद्देश्यले २५ वर्षअघि मृत्यु भई गाडिएका श्रीमानको कंगाल खोजिएको छ । लमही–७ निवासी ७९ वर्षीया आई कुमारी गिरीको शनिबार निधन भयो । उनको अन्त्येष्टि आइतबार गिरी जातिको परम्परा र रीतिरिवाज अनुसार गर्ने क्रममा, २०५८ सालमा निधन भएका उनका श्रीमान स्वर्गीय रामलाल गिरीको कंगाल खोज्ने काम गरिएको परिवारले जनाएको छ । मृतकका छोरा ओमराज गिरीका अनुसार बाबु–आमालाई एउटै स्थानमा सँगै राख्ने गहिरो चाहनाका कारण यो निर्णय गरिएको हो । ओमराजले भावुक हुँदै भने, “हामी सानैदेखि बाबु–आमालाई सँगै देख्यौं, सँगै दुख–सुख बाँड्नुभएको देख्यौं । आज आमालाई बिदा गर्दा बाबुलाई अलग राख्ने मनले मानेन । त्यसैले उहाँलाई पनि आमासँगै राख्ने निर्णय गर्‍यौं ।”

रामलाल गिरीको निधन २०५८ सालमा भएको थियो । त्यतिबेला उनको दाहसंस्कार गरिएको स्थान र हाल श्रीमती आई कुमारीको दाहसंस्कार गरिएको स्थान फरक–फरक रहेकाले परिवारलाई दुवैलाई एउटै थलोमा राख्ने इच्छा पूरा गर्न कठिनाइ भएको थियो । यही कारण पुरानो समाधिस्थल खनेर कंगाल खोज्ने निर्णय गरिएको अर्का छोरा अशोक गिरीले बताए । अशोक गिरी पनि निकै भावुक देखिए, “बाबु बित्दा हामी साना थियौं, धेरै कुरा बुझ्दैनथ्यौं । तर आमाले सधैं बाबुको सम्झना गर्नुहुन्थ्यो । आज आमालाई पनि गुमाउँदा हामीलाई लाग्यो—उहाँहरूलाई फेरि अलग पार्नु हुन्न । जहाँ भएपनि सँगै रहुन् भन्ने हाम्रो चाहना हो ।”

कंगाल खोज्ने क्रममा स्व. रामलाल गिरीको पूर्ण अवशेष फेला नपरे पनि शिर (खोपडी) भने फेला परेको बताइएको छ । सोही शिरलाई सम्मानपूर्वक पुनः प्रयोग गर्दै बाबु–आमालाई एउटै स्थानमा तर फरक–फरक गाड्ने कार्य सम्पन्न गरिएको परिवारले जनाएको छ ।
यो घटनाले स्थानीय समाजलाई पनि गहिरो रूपमा छोएको छ । बनघुस्री खुटीका स्थानीयबासीहरू यसलाई केवल अनौठो घटना मात्र नभई, सन्तानले बाबु–आमाप्रति देखाएको सम्मान र प्रेमको उदाहरणका रूपमा हेर्छन् । एक स्थानीय शिवराज गिरीले भने, “आजभोलि सन्तानले बाबु–आमाको हेरचाह नगर्ने कुरा धेरै सुनिन्छ । तर यहाँ त २५ वर्षपछि पनि बाबुलाई सम्झेर आमासँगै राख्ने प्रयास गरिएको छ, यो साँच्चिकै ठूलो कुरा हो ।” पुन्नी औँसीका दिन बत्ती बाल्न र दिवंगत आफन्तलाई सम्झन सहज होस् भन्ने मान्यताका आधारमा घर नजिकै समाधि हुनु पर्ने परम्परा रहेको छ । सोही पुर्खौंदेखि चलिआएको संस्कारलाई अनुसरण गर्दै पुरानो समाधि उत्खनन् गरी सारिएको स्थानीय जानकार शिवराज गिरीले बताए ।

अर्का स्थानीय गगन सिँह पुनले भने, “यो दृश्य हेर्दा आँखा रसाए । जीवनभर सँगै बसेका श्रीमान–श्रीमतीलाई मृत्युपछि पनि सँगै राख्ने सन्तानको सोच निकै पवित्र लाग्यो ।” समाजका केही युवाहरूले पनि यसलाई संस्कार र सम्बन्धको गहिरो उदाहरणका रूपमा लिएका छन् । “हामीले किताबमा मात्र यस्तो माया पढेका थियौं, आज आफ्नै गाउँमा देख्यौं,” युवा हुर्मत गिरीले भने । नेपालका गिरी (योगी/सन्यासी परम्परासँग जोडिएको) जातिमा मृत्युपछि शवलाई गाड्ने परम्परा प्रचलित छ । यसलाई धार्मिक र आध्यात्मिक दृष्टिले पवित्र मानिन्छ । मृतकलाई सफा गरी कपडाले बेरेर निश्चित विधि अनुसार गाडिन्छ । कतिपय अवस्थामा समाधि दिने चलन पनि हुन्छ, जसले मृत आत्मालाई शान्ति मिल्ने विश्वास गरिन्छ ।

यस समुदायमा परिवारबीचको सम्बन्धलाई मृत्युपछि पनि निरन्तर रहने विश्वास गरिन्छ । त्यसैले पति–पत्नीलाई सँगै राख्ने चाहना अस्वाभाविक मानिँदैन, बरु यसलाई प्रेम र समर्पणको प्रतीकका रूपमा लिइन्छ ।
दाङको लमहीमा घटेको यो घटना केवल एउटा समाचार होइन, गहिरो भावना, संस्कार र सम्बन्धको कथा हो । बाबु–आमालाई एउटै थलोमा राख्ने सन्तानको प्रयासले समाजलाई एउटा सन्देश दिएको छ—माया र सम्मान कहिल्यै समाप्त हुँदैन, त्यो समयसँगै झन् गहिरो हुँदै जान्छ । सन्तानका आँखामा झल्किएको पीडा र प्रेम, अनि समाजले व्यक्त गरेको सम्मान—यी सबैले यो घटनालाई अविस्मरणीय बनाएको छ । वास्तवमै, यस्तो घटना सुन्दा मात्र होइन, देख्दा पनि मन भक्कानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *