लमहीमा पहिलोपटक लाटोकोसेरो तथा हुचिल उत्सव, संरक्षणमा सामूहिक प्रतिबद्धता
घरसञ्चार
दाङ । किसानका भरपर्दा साथीका रूपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षण सन्देश फैलाउने उद्देश्यसहित दाङको लमहीमा पहिलोपटक लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ ।
जैविक विविधता संरक्षण र वातावरणीय सचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ आयोजित उत्सवमा समुदायका नागरिक, विद्यार्थी तथा संरक्षणकर्मीहरूको उल्लेखनीय सहभागिता देखिएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको संयुक्त आयोजनामा सुरु भएको १३ औँ संस्करणको उक्त उत्सवको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री कलवारले वातावरण संरक्षण बिना वन्यजन्तु तथा चराचुरुङ्गीको अस्तित्व सम्भव नहुने उल्लेख गर्दै लाटोकोसेरो जस्ता महत्वपूर्ण प्रजातिको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । “हामीले वातावरण र वन जोगाउन सके मात्र यस्ता उपयोगी चराहरूको संरक्षण सम्भव हुन्छ,” उनले भने, “लाटोकोसेरो संरक्षण गर्नु हामी सबैको दायित्व हो ।”

उत्सव स्थलमा तीनवटा अस्थायी संग्रहालय निर्माण गरी लाटोकोसेरोसँग सम्बन्धित विविध दृश्य, चित्र तथा जानकारीमूलक सामग्रीहरू प्रदर्शनीमा राखिएको छ । साथै ४० भन्दा बढी स्टलहरूमा चरा, पुतली तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक सामग्रीहरू प्रस्तुत गरिएका छन् । विद्यार्थी र स्थानीय बासिन्दाहरूले ती सामग्रीहरू उत्साहपूर्वक अवलोकन गर्दै जानकारी लिएका छन् । उत्सवमा सहभागीहरूले अनुहार तथा हातमा लाटोकोसेरोका चित्र बनाएर खुसी साटासाट गरेका छन् । लामो समयदेखि लाटोकोसेरोलाई अशुभ वा हेलाको रूपमा लिने गलत धारणा तोड्ने प्रयासस्वरूप यस उत्सवले यसको वास्तविक महत्व उजागर गर्ने काम गरेको आयोजकहरूको भनाइ छ ।
‘प्रकृतिका साथीहरू’ संस्थाका निर्देशक राजु आचार्यका अनुसार लाटोकोसेरो प्रकृतिको सन्तुलन कायम राख्ने महत्वपूर्ण जीव हो । “लाटोकोसेरो किसानको साँचो साथी हो, यसले खेतबारीमा मुसा नियन्त्रण गरी कृषिमा ठूलो सहयोग पुर्याउँछ,” उनले भने, “यसको संरक्षणमा सबैको सहभागिता अनिवार्य छ ।” अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले पनि समुदायस्तरबाट संरक्षण अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए । “लाटोकोसेरो हाम्रो पर्यावरणको अभिन्न अंग हो, यसको संरक्षण समुदायबाटै सुरु हुनुपर्छ,” उनले बताए । विशेषज्ञहरूका अनुसार लाटोकोसेरोले एक सिजनमा करिब तीन हजारसम्म मुसा खाएर कृषिमा प्रत्यक्ष योगदान पुर्याउँछ । यही कारण यसलाई किसानको साथीको रूपमा चिनिन्छ। तर पछिल्लो समय अवैध व्यापार, चोरी सिकार, बासस्थानको अभाव तथा विषादी प्रयोगका कारण यसको संख्या घट्दो अवस्थामा पुगेको छ ।

ठूला रुखहरूको कटान, परम्परागत घर संरचनाको अभाव र प्राकृतिक बासस्थान नष्ट हुँदै जाँदा लाटोकोसेरोको प्रजनन तथा बसोबासमा गम्भीर असर परेको छ । साथै, रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले यसको आहार शृङ्खलामा समेत नकारात्मक प्रभाव पारेको छ । उत्सवको पहिलो दिन चरा अवलोकन कार्यक्रम, लाटोकोसेरोसम्बन्धी लघु संग्रहालय, रोबोट प्रदर्शनी तथा स्लाइड र भिडियो प्रस्तुतिहरू आयोजना गरिएका छन् । आगामी दिनहरूमा पनि विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । उत्सवलाई थप आकर्षक बनाउन थारु, मगर, गुरुङ तथा कुमाल समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिताहरू समेत समावेश गरिएको छ । यसले स्थानीय संस्कृति प्रवर्द्धनसँगै पर्यटन प्रवाह बढाउने अपेक्षा गरिएको छ ।
नेपालमा तराईदेखि हिमालसम्म लाटोकोसेरो पाइने भएपनि यसको यकिन तथ्यांक उपलब्ध छैन । विश्वभर करिब २३० प्रजातिका लाटोकोसेरो पाइने गरेका छन् भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति संकटापन्न अवस्थामा रहेको तथ्यांक छ ।
समग्रमा, लमहीमा आयोजना गरिएको यो उत्सवले लाटोकोसेरो संरक्षणप्रति जनचेतना फैलाउने, स्थानीय समुदायलाई सक्रिय बनाउने र वातावरणीय सन्तुलनप्रति जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास गरिएको छ । महोत्सब शनिवार सम्म चल्नेछ ।






