भालुवाङ अस्पताललाई ३८ लाखका अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण

भिसुन शाही

दाङ, चैत ९ । भालुवाङस्थित भालुवाङ अस्पताललाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन र ३२५ पीको सहयोगमा करिब ३८ लाख रुपैयाँ बराबरका दुई अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।

सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच फुल्ली अटोमेटिक एनालाइजर र लुमिनेसेन्स इम्युनोअसे (थाइराइड तथा हर्मोन परीक्षण) मेसिन अस्पताललाई प्रदान गरिएको हो । यी उपकरणहरू जडान भएसँगै अब रगतसम्बन्धी विभिन्न जाँचहरू छिटो, सटीक र प्रभावकारी रूपमा गर्न सकिनेछ । फुल्ली अटो मेटिक एनालाइजरबाट ब्लड सुगर, किड्नी फङ्सन (क्रिएटिनिन, युरिया), लिभर फङ्सन, कोलेस्ट्रोल लगायतका परीक्षणहरू गर्न सकिन्छ भने लुमिनेसेन्स इम्युनोअसे मेसिनबाट थाइराइड (TSH, T3, T4), HbA1c, विभिन्न हर्मोन, भाइरस सम्बन्धी परीक्षणहरू गर्न सकिने चिकित्सकहरूले बताएका छन् ।

यी मेसिनहरू अत्यन्तै संवेदनशील र सटीक भएकाले सानो मात्रामा रहेका रोगसमेत पहिचान गर्न सक्षम छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालका गभर्नर एमजेएफ ज्ञानेन्द्रकुमार श्रेष्ठले आगामी दिनमा थप अत्याधुनिक उपकरणहरू सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय तह, उद्योगी तथा व्यवसायीहरूको सहकार्य भएमा भालुवाङ अस्पतालमा किड्नी डायलाइसिस सेवा सञ्चालन गर्न आवश्यक मेसिन उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए । यसैगरी, विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पीका भाइस डिस्ट्रिक्ट गभर्नर तथा लायन्स क्लब बुटवल संस्थाका संस्थापक अध्यक्ष एमजेएफ सन्दीप कसौधनले कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रदान गरिएका स्वास्थ्य उपकरणहरूको महत्वबारे चर्चा गरे ।

उनले यस्ता अत्याधुनिक इक्विपमेन्टले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा लायन्स इन्टरनेशनलका प्रतिनिधिहरू युवराज थपलिया र मधुसुदन वैद्य, भालुवाङ अस्पताल विकास समितिका अध्यक्ष सूर्यप्रकाश शर्मा, अस्पताल प्रमुख डाक्टर आकाश बेलबासी, एमडीजीपी विशेषज्ञ डाक्टर रणबहादुर बोगटी, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावत, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्ण श्रेष्ठ, चैतन्य पाठशालाका डाक्टर जिवराज आचार्य, साथै विभिन्न संघसंस्था तथा उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश शर्माले यी उपकरणहरूको आगमनसँगै अब स्थानीय बिरामीहरूले सामान्य तथा केही जटिल रगत परीक्षणका लागि बुटवल जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो। एमडीजीपी विशेषज्ञ डाक्टर रणबहादुर बोगटीले पनि मेसिनहरूको प्रयोग र त्यसबाट हुने फाइदाबारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रमको अध्यक्षता होम प्रसाद शर्माले गर्नुभएको थियो भने सञ्चालन कृष्णराज पौडेलले गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापनमा लायन्स क्लब प्राप्ति क्यापिटलले विशेष भूमिका निर्वाह गरेको थियो । कार्यक्रमको समापन अध्यक्ष होम प्रसाद शर्माले धन्यवाद ज्ञापनसहित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *