मौसम प्रतिकूलताका कारण बुधवार लमही महोत्सव नचल्ने

घरसञ्चार

देउखुरी । लगातारको वर्षा तथा मौसम प्रतिकूलताका कारण दाङको लमहीमा सञ्चालन भइरहेको लमही महोत्सव बुधवार एक दिनका लागि नचल्ने भएको छ ।

महोत्सव स्थलमा निर्माण कार्य तथा पानी सुकाउने काम भइरहेकाले बुधवार महोत्सव सञ्चालन गर्न नसकिएको आयोजकले जनाएको छ । लमही चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन भइरहेको उक्त महोत्सवमा वर्षाका कारण स्टल क्षेत्र, मञ्च तथा दर्शक बस्ने स्थानहरूमा पानी जमेको थियो । सो पानी हटाउने, स्थल सुकाउने तथा अस्थायी संरचनाहरूको मर्मत तथा व्यवस्थापन कार्य भइरहेकाले बुधवारका सबै कार्यक्रम रोकिएको चेम्बर अफ कमर्सका अध्यक्ष किरण कुमार बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीका अनुसार दर्शक, व्यापारी तथा कलाकारहरूको सुरक्षालाई मध्यनजर गर्दै एक दिनका लागि महोत्सव नचलाउने निर्णय गरिएको हो । “मौसम अनुकूल नभएकाले कुनै पनि जोखिम नहोस् भन्ने उद्देश्यले बुधवार कार्यक्रम रोकिएको हो,” उनले भने, “महोत्सव स्थललाई व्यवस्थित र सुरक्षित बनाउने काम तीव्र रूपमा भइरहेको छ ।”

महोत्सव व्यवस्थापक विनोद बुढाथोकीले वर्षाका कारण केही स्टल तथा विद्युत् व्यवस्थापनमा समस्या देखिएको बताए । उनका अनुसार पानी सुकाउने, बिजुली लाइन सुरक्षित बनाउने तथा हिलो हटाउने कामलाई प्राथमिकता दिइएको छ । “बुधवार सम्पूर्ण तयारी सम्पन्न गरेर बिहीवारदेखि नियमित रूपमा महोत्सव सञ्चालन हुनेछ,” व्यवस्थापक बुढाथोकीले स्पष्ट पारे । आयोजकका अनुसार महोत्सव १५ गते बिहीवारदेखि पूर्वनिर्धारित कार्यक्रमसहित नियमित रूपमा सञ्चालन हुनेछ । स्थगित दिनका कारण कुनै पनि कलाकारको प्रस्तुति रद्द नगरिएको र कार्यक्रम तालिका व्यवस्थापन गरेर अगाडि बढाइने बताइएको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापारिक गतिविधि विस्तार, पर्यटन विकास तथा सांस्कृतिक संरक्षणको उद्देश्यले आयोजना गरिएको लमही महोत्सवमा दैनिक हजारौँ दर्शकको उपस्थिति रहने गरेको छ । महोत्सवमा कृषि तथा घरेलु उत्पादन, व्यापारिक स्टल, मनोरञ्जनात्मक कार्यक्रम, सांस्कृतिक झाँकी तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समावेश गरिएको छ । आयोजकले मौसममा सुधार आएपछि महोत्सव अझ व्यवस्थित र आकर्षक रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गर्दै दर्शक, व्यापारी तथा सहभागी सबैलाई बिहीवारदेखि पुनः उपस्थित भइदिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *