दिपन महिला सहकारीको १३औँ साधारण सभा, दुई दर्जन बढि सम्मानित

घरसञ्चार

लमही । लमही नगरपालिका-७ कप्तानगञ्ज स्थित दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले महिला किसान तथा जेष्ठ नागरिक र विद्यार्थी गरि दुई दर्जन बढिलाई सम्मान गरेको छ ।

सहकारीको १३ औँ वार्षिक साधारण सभाको अबसर पारी सँस्थामा आबद्ध जेष्ठ नागरिक, महिला किसान सँगै जेहेन्दार बिद्यार्थीहरुलाई सम्मान गरेको हो । शैक्षिक सामाग्री, कृषि सामाग्री सहित सँस्थाले दोसल्ला ओढाएर सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मान अन्तर्गत कमिनी घर्ती र मोहनमाली पुनलाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट उद्यमी सम्मान अन्तर्गत बाख्रापालनतर्फ सरस्वती सार्की र दिलकुमारी पुन, तरकारी खेतीतर्फ उमादेवी चौधरीलाई सम्मान गरिएको थियो ।

यसका साथै उत्कृष्ट समूह सम्मान अन्तर्गत डाँफे सहयोगी समूह उचानिम्बु, खुसी सहयोगी समूह कप्तानगञ्ज, जुनेली सहयोगी समूह बिचकागाउँ र संघर्ष सहयोगी समूह गिधनिया लाई सम्मान प्रदान गरिएको थियो । यी समूहहरूले सामूहिक प्रयास, अनुशासन र निरन्तर उत्पादनमार्फत स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरिएको थियो । शैक्षिक क्षेत्रमा पनि सहकारीको योगदानलाई उजागर गर्दै जेहेन्दार विद्यार्थी सम्मानित भएका छन् । सम्मानित विद्यार्थीहरूमा राप्ती माध्यमिक विद्यालय उचानिम्बुकी निर्मला कुमाल, अर्जुन माध्यमिक विद्यालय हसनापुरकि गुराँस चौधरी र त्रिशक्ति प्राथमिक विद्यालय कप्तानगञ्जकी प्रिति चौधरी रहेका छन् ।

संस्थाकी अध्यक्ष पुनम घर्ती मगरको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष एबम् लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीको प्रमुख आतिथ्य र हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत डा. गान्धी उपाध्यायको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी मोहन गिरीले सहकारीले महिलालाई आर्थिक रूपमा सक्षम बनाउँदै सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकोमा खुसी ब्यक्त गरे । उनले सहकारी र साझेदार संस्थाबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्ने बताउँदै सहकारी संस्थाले स्थानीय किसान र महिलालाई आत्मनिर्भर बनाउने दिशामा खेलेको भूमिकाको प्रशंसा गरे । उनले नगरपालिका र वडा कार्यालयको तर्फबाट सहकारीसँग सहकार्य गर्दै कृषि, पशुपालन र उद्यम विकासमा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरे ।

संस्थाकी कोषाध्यक्ष सुनिता बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लेखा संयोजक गीता चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गरिन । सचिव निर्मला शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल सम्पत्ति तथा खर्च विवरण सार्वजनिक गरिन । प्रस्तुत विवरण अनुसार सहकारीको कुल सम्पत्ति ९ करोड ६३ लाख ८२ हजार ८२० रुपैयाँ पुगेको छ, जसले संस्थाको आर्थिक अवस्था सुदृढ हुँदै गएको स्पष्ट संकेत गरेको छ । यसैगरी, संस्थाका व्यवस्थापक हरिनारायण चौधरीले आगामी वार्षिक कार्ययोजना प्रस्तुत गर्दै तरकारी खेती, बाख्रापालन, भैंसी पालनलगायतका क्षेत्रमा व्यवसायिक विस्तार गर्ने, बजार पहुँच बढाउने र सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धि गर्ने योजना रहेको बताए । किसानलाई व्यवसायिक बनाउँदै आम्दानी वृद्धिमा जोड्ने सहकारीको लक्ष्य अझ प्रभावकारी ढंगले अघि बढाइने उनको भनाइ थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै सँस्थाकि अध्यक्ष पुनम घर्ती मगरले सबैलाई धन्यवाद ज्ञापन गर्दै सहकारीलाई अझ सशक्त, पारदर्शी र सदस्य–मैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन । सहकारीले महिलालाई आत्मनिर्भर बनाउने, कृषि तथा पशुपालनमार्फत उद्यमशीलता विकास गर्ने र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने दिशामा निरन्तर काम गरिरहेको उल्लेख गरिन । उनले पारदर्शिता, समयमै लेखा परीक्षण र सदस्यप्रति जवाफदेहितालाई सहकारीको मुख्य विशेषताका रूपमा उल्लेख गरिन । कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका कार्यक्रम अधिकृत हिमाल खड्का, हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत डा. गान्धी उपाध्याय लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण संस्थाकी उपाध्यक्ष लक्ष्मी चौधरीले गर्नुभएको थियो ।

वि.सं. २०७० साल कार्तिकमा स्थापना भएको यस सहकारी २५ जना सदस्यबाट सुरु भई हाल १,२०० भन्दा बढी सदस्यमा विस्तार भएको छ । लमही नगरपालिका–७ र ८ नम्बर वडालाई कार्यक्षेत्र बनाउँदै सहकारीले तरकारी खेती, बाख्रापालन, भैंसीपालनलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ। सहुलियत दरमा ऋण वितरण, किसानको हकहित संरक्षण र व्यवसायिक कृषिमा जोड दिँदै आएको यस सहकारीले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *