देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ सम्पन्न, ४६ जना खेलाडीको स्तरबृद्वि
घरसञ्चार
लमही । लमही नगरपालिका–६ स्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । स्कुलमा संचालन भइरहेका तेक्वान्दो कक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
बिद्यालयका डोजाङ प्रमुख कुबिर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भू-माण्डप केसी, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी, संघका सल्लाहकार किरण पौडेल, सदस्यद्वय ऋषिराज चौधरी र बसन्ती चौधरी, प्रशिक्षक दिपक खड्का, अभिभावक, शिक्षक–कर्मचारी तथा खेलाडी विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाल तेक्वान्दो संघको वार्षिक योजना अनुसार देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङमा यसपटक ४६ जना खेलाडी विद्यार्थीहरूले विभिन्न तेक्वान्दो ग्रेडमा उन्नति हासिल गरेका छन् । यसमध्ये केही खेलाडीले डबल प्रमोसन समेत पाउन सफल भएका छन्, जुन स्कुल र प्रशिक्षक टोलीका लागि गर्वको विषय बनेको छ । ग्रेडिङमा खेलाडीहरूले तोकिएको तकनीक, किक, पुम्से, स्प्यारिङ तथा अनुशासनका आधारमा परीक्षण दिएका थिए ।
स्कुलमा हाल बेलुकी सत्र अन्तरगत दुई सिफ्टमा डोजाङ प्रमुख तथा प्रशिक्षक कुबिर गिरीद्वारा नियमित रूपमा तेक्वान्दो कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालय प्रशासनका अनुसार तेक्वान्दोले विद्यार्थीको शैक्षिक, शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पारेको छ, र यसलाई अझ विस्तार गर्ने योजना पनि रहेको छ । कार्यक्रमका अतिथि र प्रशिक्षकहरूले खेलाडी विद्यार्थीहरूलाई शुभकामना दिँदै निरन्तर अभ्यास र अनुशासनकै माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने बताएका थिए ।

स्कुलका प्रधानाध्यापक भु-माण्डब केसीले खेलकुदलाई विद्यालयको महत्वपूर्ण आधार मानेर भविष्यमा अझ व्यवस्थित कार्यक्रमहरू ल्याइने प्रतिबद्धता व्यक्त गरे । “विद्यार्थीहरू केवल कापी–किताबमा मात्र सीमित भएर बस्नु हुँदैन । तेक्वान्दोजस्ता खेलकुदले उनीहरूको आत्मबल, अनुशासन र नेतृत्व क्षमता अभूतपूर्व रूपमा वृद्धि गरिदिन्छ । हाम्रो विद्यालयले ‘विकास, अनुशासन र गतिशीलता’ को मुलमन्त्र अनुरूप शारीरिक तथा मानसिक दुवै पक्ष सन्तुलित बनाउने वातावरण सिर्जना गर्दै आएको छ उनले भने-आजको ग्रेडिङले उनीहरूको मेहनत, लगनशीलता र भविष्यप्रति रहेको प्रतिबद्धता झनै प्रष्ट पारेको छ ।” प्रधानाध्यापक के.सी.ले खेलकुदमार्फत विद्यार्थीलाई देश–विदेशमा प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरे ।
ग्रेडिङ कार्यक्रमले विद्यार्थीहरूमा तेक्वान्दोप्रतिको आकर्षण झनै बढाएको देखिन्छ । विद्यार्थी, अभिभावक तथा विद्यालयको सामूहिक प्रयासले तेक्वान्दो कक्षा अझ बलियो, प्रभावकारी र प्रेरणादायी बन्दै गएको छ । ग्रेडिङ कार्यक्रमको सहजीकरण स्कुलको अतिरिक्त क्रियाकलाप समितिका सदस्य तथा मा.वि.शिक्षिका तुलसी खत्रीले गरेकि थिईन ।





