दाङ बस दुर्घटना अपडेट: सबै घाइते डिस्चार्ज, बस चालक प्रहरी नियन्त्रणमा
घरसञ्चार
दाङ । दाङमा भएको बस दुर्घटनामा परेर घाइते भएका सबै २२ जना यात्रु प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेका अनुसार बिहान करिब ३ बजे भएको बस दुर्घटनमा २२ जना घाइते भएका थिए । घाइते सबैको लमही अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ । डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे अचानक ड्राईभर साइडको भाग भाँचिएर पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बस चालक डडेल्धुरा अम्मरगढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको खबर पाएपछि लमहीस्थित प्रहरी कार्यालय र नर्ति प्रहरी चौकीबाट टोली खटिएको थियो । घाइतेहरूमा डडेल्धुरा, कैलाली, बैतडी, प्युठानलगायत विभिन्न स्थानका रहेका थिए । प्रहरीले दुर्घटनाको कारण प्राविधिक समस्या हुन सक्ने अनुमान गरेको छ । बसको पट्टा भाँचिएको बस चालकले प्रहरी समक्ष बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।





