२० वर्षमै प्रधानाध्यापक बनेकी दाङ देउखुरीकी रक्षाकुमारी यादव

आलोक भावुक

दाङ,१६ मंसिर । दाङको बबाई गाउँपालिका -७ जलजला मलई स्थित श्री सरस्वती आधारभूत विद्यालयकी रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी छन् । अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ ।

उनको लगनशीलता, दृढता र कार्यक्षमताको व्यापक प्रशंसा हुँदै आएको छ । धेरैले उनलाई ‘युवा नेतृत्वको उत्कृष्ट उदाहरण’ भन्दै बधाई तथा शुभकामना दिएको पाइन्छ । रक्षा भन्छिन् “उमेर होइन, जिम्मेवारी र दृष्टिको महत्व हुन्छ । गाउँका बालबालिकालाई गुणस्तरयुक्त शिक्षा उपलब्ध गराउनु नै मेरो पहिलो लक्ष्य हो ।”प्रधानाध्यापकका रूपमा उनले विद्यालयमा प्राविधिक शिक्षा, बालमैत्री वातावरण निर्माण तथा गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छन् ।

उनलाई कक्षा ६ देखी कक्षा १२ सम्म अध्ययनका लागि क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपि नेपाल) ले विशेष सहयोग गरेको थियो । आज कम उमेरमा सफलताको शिखर चुम्दा सिपि नेपाल परिवार अत्यन्त खुसी भएर जनाएको छ । गाउँमा एक युवा महिलाले यसरी नेतृत्व सम्हाल्नु स्वयंमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । अभिभावक तथा स्थानीयवासीहरूका अनुसार सामुदायिक विद्यालयमा युवा नेतृत्व बढ्दै जाँदा शिक्षा क्षेत्रमा नयाँ ऊर्जा, नयाँ सोच र सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *