देउखुरी पब्लिक स्कूलमा ‘कृत्रिम बौद्धिकत्ता तथा कोडिङ’ आधारभूत तालिम सुरु
घरसञ्चार
देउखुरी । शैक्षिक क्यालेन्डर–२०८२ को भावना र स्पिरीट अनुरूप देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयले सञ्चालन गरको “कृत्रिम बौद्धिकता तथा कम्प्युटर कोडिङ सम्बन्धी आधारभूत तालिम”को उद्घाटन गरिएको छ । मङ्सिर १४ देखि २५ गतेसम्म १० दिन चल्ने यो तालिम विद्यालयले प्रविधिमैत्री शिक्षालाई थप प्रभावकारी बनाउन थालेको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
विद्यालयका परीक्षा समितिका संयोजक राम औतार चौधरीको अध्यक्षता तथा विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक भु–माण्डप के.सी. को प्रमुख आतिथ्यमा तालिमको शुभारम्भ भएको हो । प्रमुख अतिथि केसीले विद्यालयले समयको मागअनुसार विद्यार्थीलाई सीपमूलक, प्रविधिमुखी र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै यो तालिम पनि त्यसैको निरन्तरता भएको बताए । उनका अनुसार विद्यालयले पढाइ—लेखाइ मात्र होइन, खेलकुद, नृत्य, कला, सिर्जनशीलता र अनुशासनसमेतमा उल्लेखनीय प्रगति हासिल गर्दै अगाडि बढिरहेको छ । “देउखुरी पब्लिक स्कुल अहिले अभिभावकको पहिलो रोजाइ बन्नुका पछाडि हाम्रो टीमवर्क र विद्यार्थी–केन्द्रित शिक्षण पद्धति मुख्य कारण हो,” केसीले बताए । उनले तालिमले विद्यार्थीमा कम्प्युटरप्रतिको रुचि अझै बढाउने र भविष्यमा आवश्यक पर्ने डिजिटल क्षमता विकास गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
स्कुलकी माध्यमिक तहकी शिक्षिका तुलसी खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको तालिममा मुख्य प्रशिक्षक टिकाराम आचार्य छन । उनले प्रारम्भिक कक्षादेखि माथिल्लो तहसम्मका विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ताको आधारभूत अवधारणा, कम्प्युटर भाषाको जग, साधारण कोडिङ अभ्यास, तार्किक सोच विकास तथा डिजिटल सुरक्षा सम्बन्धी महत्वपूर्ण पक्षहरू सिकाउने जानकारी गराइएको छ । तालिमले विद्यार्थीलाई आधुनिक प्रविधिको प्रयोग तथा भविष्यका सीपहरूसँग जोड्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ ।
विद्यालयले आगामी दिनमा यस्तै व्यावहारिक तथा जीवनउपयोगी सीप विकासका कार्यक्रमहरू निरन्तर गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको सहजीकरण स्कुलका अतिरिक्त क्रियाकलाप समितिका प्रमुख कुबीर गिरीले गरेका थिए ।





