राप्तीमा प्रतिजैविक प्रतिरोध न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
तुलबहादुर कवँर मगर
मसुरिया, ८ मंसिर । दाङको राप्ती गाउँपालिकामा प्रतिजैविक (एण्टिबायोटिक) प्रतिरोध न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मसुरियामा सम्पन्न भएको छ ।
“प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ” भन्ने नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह अन्तर्गत साे कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतिजैविक प्रतिरोध रोकथामका लागि समुदायस्तरमै सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए । “एण्टिबायोटिकको अनियन्त्रित प्रयोगले स्वास्थ्य प्रणाली नै जोखिममा पारिरहेको छ । चिकित्सकको सल्लाहबिना सेवन गर्ने प्रवृत्ति बढेको छ, जसले सामान्य रोग पनि गम्भीर बन्न थालेका छन्,”—अध्यक्ष विष्टले भने । उनले पशु,पंक्षी तथा बाली उत्पादनमा समेत एण्टिबायोटिकको दुरुपयोगले मानव स्वास्थ्य तथा वातावरणमा असर पारिरहेको बताउँदै यसको न्यूनीकरणका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

साथै, केही औषधि व्यवसायी तथा स्वास्थ्यकर्मी स्वयंले पनि आवश्यकता भन्दा बढी एण्टिबायोटिक दिने प्रवृत्ति देखिएको र यसले समस्या झनै जटिल बनाएको टिप्पणी गरे । औषधिकाे पूरा कोर्स नगर्ने बानीले पनि प्रतिरोध दर बढाइरहेको उनको भनाइ छ ।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज ढकालले प्रतिजैविक प्रतिरोधका कारण, जोखिम, विश्वस्तरीय तथ्यांक तथा नियन्त्रणका उपायसम्बन्धी विषयमा विस्तृत रूपमा प्रस्तुति दिए । उनले एण्टिबायोटिकको दुरुपयोग विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा देखिएको भन्दै समन्वित प्रयास आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी तथा एग्रोभेट व्यवसायीहरुको सहभागिता रहेको थियो ।





