लुम्बिनी प्रदेशमा तयार हुँदै गरेका मन्त्रालय भवन

लीलाधर वली
दाङ, १८ भदौ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लालमटियामा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री कार्यालयसहित १० वटा निर्माणाधीन मन्त्रालयको भौतिक प्रगति ५ प्रतिशत बढि सकिएको छ । प्रदेश सरकारले गुरुयोजना अनुसार मण्डला आकारमा आकर्षक शैलीमा प्रशासनिक केन्द्र निर्माण गरिएको छ ।

मुख्यमन्त्री कार्यालय र अन्य नौ वटा मन्त्रालयको ८५ प्रतिशत निर्माणको काम सकिएको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनियर प्रदीप भट्टराईले जानकारी दिए । कार्यालय प्रमुख इन्जिनियर भट्टराईका अनुसार प्रदेशको आफ्नै खर्चमा निर्माण भइरहेका आधुनिक भवनसहितको संरचना अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन मुख्यमन्त्रीको कार्यालय छ तला र अन्य मन्त्रालयहरू पाँच तलाका रहेका छन् । जसमा अपाङ्गतामैत्री, लिफ्टसहित अन्डरग्राउन्ड पार्किङको सुविधा रहेको आयोजनाले जनाएको छ ।

भौतिक संरचना निर्माणको काम सकेर अहिले फिनिसिङ अन्तर्गत नवनिर्मित भवनहरूमा रँगरोगनसँगै विद्युत, खानेपानी, एसीलगायतका जडानको काम भइरहेको छ । भवनको बाहिरी क्षेत्र अन्तर्गत सडक विस्तार, ढल निकास, नाली, फुटपाथ निर्माणसँगै सरसफाइको काम भइरहको प्रमुख भट्टराईले बताए । राजधानी क्षेत्रको १७ बिघा १९ कट्ठा चार धुर क्षेत्रफलमा निर्माण भइरहेका संरचनाको अन्तिम चरणमा पुगेको भन्दै प्रमुख भट्टराईले भने, ‘मुख्य मन्त्रालयसहितका मन्त्रालयहरूको मुख्य निर्माणको काम सकिएको छ । अब फिनिसिङको काम भइरहेको छ । सम्झौता अनुसार यही पुसको २ गतेसम्म काम सक्ने गरी निर्माणको काम भइरहेको छ ।’

२०८२ पुसको २८ गतेसम्म राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गरिसक्ने गरी २०७९ मङ्सिर २८ गते शर्मा सगुन जेभी काठमाडौंसँग भ्याटबाहेक तीन अर्ब नौ करोड एक लाख २९ हजारमा ठेक्का सम्झौता भएको थियो । राजधानीका लागि भौतिक संरचना निर्माणमा हालसम्म ६७ प्रतिशत अर्थात् करिब दुई अर्ब सात करोड तीन लाख रुपैयाँ बराबर खर्च भइसकेको छ । सम्झौता भएको करिब दुई महिनापछि फागुन महिनाबाट राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणको काम सुरु भएको थियो । ठेक्का सम्झौता अनुसार अझै करिब चार महिनाको समय बाँकी रहेको र मुख्य काम भइसकेकाले सम्झौता मितिमै काम सकिनेमा विश्वस्त रहेको कार्यालय प्रमुख भट्टराई बताउँछन् ।

मुख्यमन्त्रीको कार्यालयसहित १० मन्त्रालयको भवन निर्माणको काम सकिएपछि मन्त्रालय लगायतका अन्य शाखाहरू व्यवस्थापनमा सहज हुनेछ । पर्याप्त संरचना नहुँदा अहिले पनि उद्योग, पर्यटन तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको भवन, स्वास्थ्य मन्त्रालय राप्ती गाउँपालिका–५ सिसहनियास्थित वडा कार्यालय र कृषि, भूमि तथा सहकारी मन्त्रालय राप्ती गाउँपालिका–१ भालुबाङस्थित वडा कार्यालयबाट सञ्चालन भइरहेका छन् । अस्थायी राजधानी बुटवलबाट २०७९ साल मङ्सिरमा प्रदेशको स्थायी राजधानी दाङमा सारिएपछि राप्ती उपत्यका अन्तर्गत लालमटियास्थित तत्कालीन राप्ती प्राविधिक शिक्षालयको भवनलाई व्यवस्थापन गरेर सञ्चालन गरिँदै आइएको छ । २०७७ असोज २० गते बुटवलमा बसेको प्रदेश सभा बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं ८ र ९ लाई केन्द्र मानेर तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *