लुम्बिनीमा विपद्का घटनामा परी एक महिनामा ४३ जनाको मृत्यु

घरसञ्चार
दाङ,१८ भदौ । लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्का घटनामा परी ४३ जनाको मृत्यु भएको छ । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा एक सय ५४ जना घाइते भएका छन् भने दुईजना बेपत्ता छन् ।
सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायत तीन सय ३५ वटा घटना भएका थिए । ती घटनाका कारण मानवीय क्षति भएको हो । यसरी भएको विपत्ले ५१ लाख बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ । साउनमा मात्र बाढीमा परेर दुई, पानीमा डुबेर २७, आगलागीमा परेर एक, विषाक्त खाद्य सेवनका कारण चार, सर्पदंशका कारण आठ र अन्यमा एक गरी ४३ जनाको मृत्यु भएको जनाइएको छ ।
प्रदेशस्तरीय विवरणअनुसार दाङमा सात, कपिलवस्तुमा नौ, रूपन्देहीमा पाँच, बाँकेमा दुई, गुल्मीमा दुई, पाल्पामा दुई, प्युठानमा चार, बर्दियामा तीन, अर्घाखाँचीमा दुई, नवलपरासी पश्चिममा दुई, रुकुमपूर्वमा एक र रोल्पामा चारजनाको ज्यान गएको छ । यस अवधिमा २१ निजी घर पूर्ण क्षतिग्रस्त भएका छन् भने १२ आंशिक क्षति भएका छन् । एक सरकारी भवन पूर्णरूपमा क्षतिग्रस्त हुँदा दुईवटा भवनमा आंशिक क्षति भएको छ । पशु क्षति ३० र गोठ क्षति २० रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।