जापानमा गर्मीका कारण ८४ हजार मानिस अस्पताल भर्ना

घरसञ्चार
काठमाण्डौ, भदौ १७ । जापानमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जापान मौसम एजेन्सीका अनुसार पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनको असरसँगै विश्वभर तापमान वृद्धि भइरहेको र त्यसको असर जापानमा पनि देखिएको जनाएको छ ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार जुनदेखि अगस्टसम्मको औसत तापक्रम सामान्यभन्दा २.३६ डिग्री सेल्सियसले बढी थियो । जुन सन् १८९८ मा तापमान रेकर्ड गर्न सुरु गरे यताकै सबैभन्दा बढी हो ।एजेन्सीका अनुसार पछिल्ला तीन वर्ष लगातार तापमान वृद्धि भएको छ । सन् २०२३, २०२४ को तापमानभन्दा २०२५ मा नयाँ रेकर्ड बनेको हो । ५ अगस्त, २०२५ मा इसेसाकी गुनमामा ४१.८ डिग्री सेल्सियस तापक्रम महसुस गरिएको थियो भने ३० जुलाई २०२५ मा तान्बा ह्योगोमा ४१.२ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।
जापानमा यसवर्ष १ मेदेखि अगस्ट २४ सम्म मात्रै गर्मीका कारण देशभर ८४ हजार ५२१ जना बिरामी भएर अस्पताल भर्ना भए । जुन गत वर्ष सोही अवधिमा ८३ हजार ४१४ जना अस्पताल भर्ना भएका थिए । गर्मीका कारण जनजीवन प्रभावित भएकोले सावधानी अपनाउन मौसम एजेन्सीले आग्रह गरेको छ । संयुक्त राष्ट्र संघले गत महिनामात्रै विश्वव्यापी तापक्रम वृद्धिले कामदारहरुको स्वास्थ्यमा झनै खराब प्रभाव पारिरहेको र उत्पादकत्वमा समेत असर परेको बताएको थियो ।