सिरहाको लहानमा आमा छोरा मृत फेला

घरसञ्चार
सिरहा, भदौ १७ । सिरहाको लहान नगरपालिका १ मटियर्वामा आमा छोरा मृत अवस्थामा फेला परेका छन् ।
लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा घर भाडा लिएर बस्दै आएका प्रवीण चौधरीको २३ वर्षीय श्रीमती रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोज चौधरी मंगलबार घरभित्रै मृत भेटिएका हुन् । सँगै रहेका अर्का ९ महिनाको छोरा भने गम्भीर अवस्थामा फेला परेका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । रञ्जिताले दुवै छोरालाई विष ख्वाएर आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कैलाश राईले जानकारी दिए ।
उनले भने, ‘शवको प्रकृति हेर्दा रञ्जिताले दुवै छोराहरूलाई विष सेवन गराएर आफूले पनि आत्महत्या गरेको जस्तो देखिन्छ । बाँकी पोस्टमार्टम र अनुसन्धानबाट खुल्दै जाने छ ।’ घरमा चहलपहल नदेखेपछि स्थानीयले खुला रहेको झ्यालबाट भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । श्रीमान् प्रवीण चौधरी भने ३–४ दिन देखि डेरामा नआएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । उनी अझै सम्पर्कमा आएका छैनन् ।
शवबाट गन्ध आउन थालेकाले हिजो नै घटना भएको हुने सक्ने डीएसी राईले जानकारी दिए । प्रवीण र रञ्जिता विगत २ वर्षदेखि घर छोडेर लहान बजारमा बस्दै आएको लहान १२ का वडा अध्यक्ष बद्रीनारायण चौधरीले जानकारी दिए । उनले भने, ‘मसँग पनि विस्तृत जानकारी छैन । तर उनी करिब २ वर्ष देखि लहानमा बस्दै आएको भन्ने जानकारी पाएको छु ।’ प्रवीण भने लहान बजारमै ज्याला मजदुरीको काम गर्ने गरेको बताइन्छ ।