दाङकी ज्योति केसी अन्तरिक्ष यात्राको तयारीमा, शीर्ष ६ मध्य एकमा पर्न सफल

भिसुन शाही ठकुरी
दाङ, भदौ १३ । देउखुरी भालुबाङकी ज्योति केसीले अन्तरिक्ष यात्राको सपना साकार गर्ने दिशामा ऐतिहासिक उपलब्धि हात पारेकी छन् । उनले हालै सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफू SERA Space (Space Exploration & Research Agency) को रकेट मिशनका लागि शीर्ष ६ “citizen astronauts” मध्ये एकमा पर्न सफल भएकि छिन् ।
ज्योति केसीले आफ्नो फेसबुकमा लेखेकी छन्— “Eight years in, my journey to space! म एउटा सानो देश नेपालमा जन्मिएकी हुँ । बाल्यकालमै तारामाथि हेरेर सपना देखें – कसरी एक दिन म पनि त्यहाँ पुग्छु? तर त्यो सपना केवल कल्पना मात्रै रहेन, मैले त्यसलाई जीवनको यात्रामा रूपान्तरण गरेँ ।”
उनका अनुसार अन्तरिक्ष यात्राको तयारी सजिलो रहेन । उनले एरोस्पेस इन्जिनियरिङ्ग डिग्री हासिल गरेकी छिन् । EGRESS Astronaut Training पूरा गरेर आपतकालीन अवस्थामा कसरी बाँच्ने भन्ने सिकेकी छिन् । साथै, उनी अमेरिकी वायुसेनामा सेवा गरिसकेकी छिन् भने कोभिड–१९ महामारीका बेला ९ महिना स्वयंसेवक स्वास्थ्यकर्मीको रूपमा अग्रपंक्तिमा खटिएकी थिइन् ।

त्यस्तै, उनी स्कुबा डाइभर, विद्यार्थी पाइलट तथा Analog Astronaut Commander बनेर मंगल वा चन्द्रमाको जस्तै वातावरणमा टिम नेतृत्व गर्दै हाइड्रोपोनिक खेती, रोभर परीक्षण र EVAs (Extravehicular Activities) सम्पन्न गरिसकेकी छिन् । ज्योति भन्छिन्—“यी सबै अभ्यास मेरो लागि मात्र होइन, नेपालकै नामलाई तारासम्म पुर्याउनका लागि थिए । आज, SERA Space मार्फत मलाई अन्तरिक्ष जानको लागि शीर्ष ६ भित्र पर्ने अवसर मिलेको छ । यो क्षण नेपालकै क्षण हो ।” हाल SERA Space ले उम्मेदवारहरूको मूल्यांकन गर्दै अन्तिम छनोट गर्ने तयारी गरेको छ । जसमा सामाजिक सञ्जालमा प्रयोग भएका #SERASpace, #NepalToSpace, #SupportJyotiKC ह्यासट्याग पनि महत्त्वपूर्ण मानिने भएको छ ।

त्यसैले ज्योति केसीले नेपालीलाई एकताबद्ध भई आफ्नो अभियानमा साथ दिन आग्रह गर्दै भनेकी छिन्—“यदि म अन्तरिक्ष पुग्छु भने, त्यो प्रत्येक नेपाली छोराछोरीको जित हुनेछ जसले सपना देख्छन् — ‘म पनि सक्छु ।’ कृपया यो अभियानलाई समर्थन गर्नका लागि लाइक, शेयर र कमेन्ट गर्नुहोस् तथा #NepalToSpace, #SupportJyotiKC, #SERASpace ह्यासट्याग प्रयोग गरी नेपाललाई विश्वभर गुञ्जाउन मद्दत सकिन्छ ।”
नेपालकी छोरी ज्योति केसीले अन्तरिक्ष यात्राको ढोका खोल्न लागेको यो उपलब्धि देशकै लागि गौरवको विषय बनेको छ ।