राप्तीकाे बगरमा सामूहिक सखरखण्ड खेती

तुलबहादुर कवँर मगर
भालुबाङ, ८ भदौ । दाङको राप्ती गाउँपालिकामा खाली जग्गा उपयोग गरि कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती सुरु गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदि उकास जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा सामूहिक खेती थालेका हुन् । खाली रहेको जमिनलाई उपयोग गर्दै कृषकलाई सामूहिक खेतीतर्फ प्रोत्साहित गर्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले गरिएको उक्त कार्यमा आवश्यक बेर्ना, कृषि औजारकाे भाडा तथा प्राविधिक सहयोग गाउँपालिकाको साझेदार संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)ले उपलब्ध गराएको छ । हाल श्रमदानमार्फत बिरुवा रोप्ने काम भइरहेको वडा अध्यक्ष चौधरीले बताए ।
यसैबीच आइतबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र पालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरीलगायतका जनप्रतिनिधिहरुले श्रमदान कार्यमा सहभागी भई कृषकहरुसँगै काम गरेका थिए । श्रमदानका क्रममा सभामुख घर्तीले कृषकको आयआर्जन बढाउन यस्ता सामूहिक पहल अत्यन्तै महत्वपूर्ण हुने बताए । उनले नेपालजस्तो कृषि सम्भावना भएका मुलुकमा अझै उत्पादन र बजार व्यवस्थापनमा चुनौती रहेकाले सामूहिक खेतीले कृषकलाई संगठित मात्र नभई उत्पादनलाई बजारसम्म पुर्याउन सहज बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले कृषक आत्मनिर्भर बनाउन दीर्घकालीन योजना अघि सारिएको बताउँदै उत्पादन मात्र नभई बजारसम्म पु¥याएर उचित मूल्य दिलाउनु अहिलेको आवश्यकता भएको औंल्याउनुभयो। उहाँले उत्पादन प्रवर्द्धन र बजार व्यवस्थापनमा पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी कृषि प्राविधिक सीता कुमारी चौधरीले सो क्षेत्रको माटो सखरखण्ड खेतीका लागि उपयुक्त रहेको बताउँदै प्रति कठ्ठामा पाँचदेखि छ क्विन्टलसम्म उत्पादन लिने लक्ष्य राखिएको जानकारी दिए । उनका अनुसार उत्पादन भएको सखरखण्डलाई सामूहिक रूपमा नजिकैको हाटबजारमा बिक्री गरिने र आवश्यकता अनुसार जिल्ला बाहिर समेत पुर्याउने व्यवस्था मिलाइनेछ ।
साथै, आउँदो माघदेखि सो क्षेत्रमा खरबुजा खेती गरिने र त्यसको लागि जग्गाको क्षेत्रफल विस्तार गर्ने योजना रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । यसअघि सो क्षेत्रमा गाउँपालिकाले पालिकालाई फलफुलमा आत्मनिर्भर बनाउने र विपन्न नागरिकलाई रोजगारीसँग जोड्ने उद्देश्यले २० हेक्टरभन्दा बढी क्षेत्रमा सामूहिक रूपमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेको थियो ।