महिला सामुदायिक भवन उद्घाटन, सशक्तीकरणमा टेवा पुग्ने विश्वास

घरसञ्चार

देउखुरी । लमही नगरपालिका वडा नं. ७ अन्तर्गत जनकपुरमा निर्माण गरिएको “मिलिजुली महिला सामुदायिक भवन” एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले यस्ता संरचनाले महिला सशक्तीकरण र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख योगीले “जनतासँग उपमेयर” कार्यक्रममार्फत समुदायको आवश्यकता पहिचान गरी योजनाहरू अगाडि बढाइएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको लगानीले दिगो विकासमा टेवा पुग्ने बताउँदै महिलाहरूलाई सामाजिक, आर्थिक तथा सीपमूलक गतिविधिमा सक्रिय बनाउन सामुदायिक भवन प्रभावकारी माध्यम बन्ने धारणा राख्नुभयो । “महिलालाई आत्मनिर्भर र सशक्त बनाउने अभियानमा यस्ता पूर्वाधारले आधार तयार गर्छ,” उहाँले भन्नुभयो ।

उहाँले आगामी दिनमा पनि नागरिकको प्रत्यक्ष सहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइने स्पष्ट पार्दै स्थानीय आवश्यकताको आधारमा विकास निर्माणका कार्यलाई अझ तीव्रता दिइने प्रतिबद्धता जनाउनुभयो । उक्त भवन “जनतासँग उपमेयर” कार्यक्रम तथा वडा नं. ७ को संयुक्त ३२ लाख रुपैया लगानीमा निर्माण गरिएको जनाइएको छ । कार्यक्रममा वडा अध्यक्ष मोहन गिरीले ग्रामीण क्षेत्रमा छरिएर रहेका महिलाहरूलाई एकीकृत गर्दै सशक्त बनाउने दिशामा आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले महिलाको सक्रिय सहभागिता बिना समग्र विकास सम्भव नहुने उल्लेख गर्दै विभिन्न महिला समूह तथा संस्थामार्फत उनीहरूलाई संगठित गर्न आवश्यक रहेको औंल्याउनुभयो । अध्यक्ष गिरीले महिलाहरूका लागि सीपमूलक तालिम, आयआर्जन कार्यक्रम तथा नेतृत्व विकासका गतिविधिमा जोड दिनुपर्नेमा विशेष ध्यानाकर्षण गराउनुभयो । साथै स्थानीय तहले ल्याएका योजनामा सबै महिलाको पहुँच सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सहकारी, बचत समूह तथा उद्यमशीलतामार्फत महिलाहरूलाई आर्थिक रूपमा सुदृढ बनाउने पहल गरिने जानकारी दिनुभयो ।


उद्घाटन कार्यक्रममा समाजसेवी तारा प्रसाद नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव शेरबहादुर चौधरीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूहका सदस्य तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । हल सहितको पक्कि भवन सुबिधा सम्पन्न बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *