डल तथा कुसन बनाउने तालिम सम्पन्न, उत्पादनको बजारीकरणमा वडाको प्रतिबद्धता

घरसञ्चार

देउखुरी । लमही नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको १५ दिने डल तथा कुसन बनाउने तालिम सम्पन्न भएको छ ।

ग्लोबल कलेज अफ ईन्जिनियरिङ्ग टेक्नोलोजी प्राली को आयोजनामा सञ्चालन भएको उक्त तालिमले स्थानीय महिलाहरुमा सीप विकास गरी आत्मनिर्भर बन्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ । आयोजक संस्थाका कार्यक्रम संयोजक विष्णु प्रसाद खनालको अध्यक्षता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो । वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन गिरीले यस्ता सीपमूलक तालिमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै महिलाहरुको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनमा जोडिन सहभागीहरुलाई आग्रह गरे । “सीप सिक्नु मात्र ठूलो कुरा होइन, त्यसलाई निरन्तर अभ्यास गर्दै उत्पादनमा रुपान्तरण गर्नु जरुरी छ,” उनले भने ।

उनले वडाले अब उत्पादनलाई बजारीकरण गर्न समेत सहयोग गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे । “तपाईंहरुले उत्पादन गर्नुभएको सामग्रीलाई बजारसम्म पुर्‍याउन वडा कार्यालयले आवश्यक समन्वय र सहजीकरण गर्नेछ,” उनले भने, “स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति अनुरुप यहाँ उत्पादित डल तथा कुसनलाई विभिन्न मेलामहोत्सव तथा बजारसँग जोड्ने प्रयास गरिनेछ ।” साथै उनले समूह बनाएर व्यवसाय सञ्चालन गर्न सुझाव दिँदै यसले दीर्घकालीन आम्दानी सुनिश्चित गर्न मद्दत पुग्ने उल्लेख गरे । तालिममा सहभागी सँगिता कुमारी चौधरी, कल्पना अधिकारी लगायतले तालिमले आफूहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरेको बताए। उनीहरुले अब सिकेको सीपलाई व्यवसायमा रुपान्तरण गर्ने योजना रहेको जानकारी दिँदै उत्पादन बिक्रीमा सहयोग भए थप उत्साह मिल्ने धारणा राखे ।

प्रशिक्षक मैना आर.सी.ले छोटो समयमै सहभागीहरुले राम्रो प्रगति गरेको बताउँदै निरन्तर अभ्यास र गुणस्तरमा ध्यान दिएमा बजारमा प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सहजिकरण वडा सचिव शेर बहादुर चौधरीले गरेका थिए । समापन कार्यक्रममा वडा सदस्यहरु केदार चौधरी, सुनमाली बिक तथा नेपाल पत्रकार महासंघ दाङ शाखा का जिल्ला सदस्य टेकबहादुर पुन लगायतको उपस्थिति रहेको थियो । १५ दिनसम्म सञ्चालन भएको उक्त तालिममा सहभागीहरुलाई डल तथा कुसन बनाउने विभिन्न प्रविधि, डिजाइन, गुणस्तर व्यवस्थापन तथा बजारसम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको थियो । तालिमले स्थानीयस्तरमै साना उद्यम विकास गरी आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *