गढवामा ६९ औं राष्ट्रिय सहकारी दिवस सम्पन्न
आलोक भावुक
गढवा, २० चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकामा ६९औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा वडा नं. ४ को वडा कार्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।
गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा सहकारी शाखा प्रमुख अशोक कुमार यादव विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष शारदाकुमारी चौधरीले सहकारी क्षेत्र ग्रामीण अर्थतन्त्र सुदृढीकरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना, बचत अभिवृद्धि र उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सकिने बताउनुभयो । “सहकारीहरूलाई पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउँदै उद्यमशीलता विकासमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो, “स्थानीय सरकार सहकारी क्षेत्रको सुदृढीकरणमा निरन्तर साथ रहनेछ ।”

त्यसैगरी विशिष्ट अतिथि तथा सहकारी शाखा प्रमुख अशोक कुमार यादवले सहकारीहरूलाई मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी नाफामूलक मात्र नभई सेवामूलक संस्था भएकाले सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । सहकारी सञ्जाल सञ्चालन सहज नभएको उल्लेख गर्दै उहाँले यसलाई यहाँसम्म पुर्याउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सहकारी शाखा प्रमुख अशोक कुमार यादव र वडा नं. ७ की वडा सदस्य रेखा थापालाई सम्मान गरिएको थियो ।
साथै पालिकाभित्रका पाँच उत्कृष्ट सहकारी संस्था, ओम बचत तथा ऋण सहकारी संस्था, आयाम बहुउद्देश्यीय सहकारी संस्था, उनको बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हिमाल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गढवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि सम्मान गरिएको थियो । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित मनाइएको दिवसका अवसरमा सहभागी सहकारीबीच कुर्सी दौड, चकलेट दौड तथा खुला कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

कुर्सी दौड प्रतियोगितामा कुर्सी दौड प्रतियोगितामा ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सुनिल गुप्ता प्रथम, परि कृर्षि सहकारी संस्था लमिटेडको रोसन यादव द्वतिय ,साना किसान सहकारी संस्था लिमिटेड राधा पोख्रेल तृतीय र अन्नपूर्ण कृषि सहकारी संस्था लिमिटेडका लेखनाथ खनाल सान्त्वना स्थान हासिल गर्नु भएको हो । त्यसैगरी चकलेट दौड प्रतियोगितामा हरियाली बचत तथा ऋण सहकारी संस्थकी सरस्वती पौडेल प्रथम, आयम बहुउद्देश्यीय सहकारी संस्था लि. की ललिता चौधरी द्वितीय, गौरब बचत तथा ऋण सहकारी संस्था लि की जानकी थारु तृतीय र उनको बचत तथा ऋण सहकारी संस्था लि की महेश्वरी चौधरी सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।
कार्यक्रममा न्यायिक समिति सदस्य रेखा थापा, आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेल, सहकारी सञ्जालका सल्लाहकार संयोजक हेमराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति उमाकान्त पन्त, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, गाउँपालिका प्रेस संयोजक आलोक भावुक, महिला अधिकारकर्मी शकुन्तला डिसी, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, शेयर सदस्य तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।





