समय कृषि सहकारीले दियो भालुबाङ अस्पताललाई १ लाख बराबरको उपकरण

भिसुन् शाही

भालुबाङ । समय बचत तथा कृषि सहकारी संस्था, भालुबाङले भालुबाङ अस्पताललाई करिब १ लाख रुपैयाँ बराबरका स्वास्थ्य तथा प्रयोगशाला उपकरणहरू सहयोग गरेको छ। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र प्रविधिमैत्री बनाउने उद्देश्यले सहकारी संस्थाले आवश्यक उपकरणहरू हस्तान्तरण गरेको हो ।

सहयोगस्वरूप रक्तचाप नाप्ने सेट, पिपेट, टेस्ट ट्युब, ब्लड ग्रुपिङ किट, एचआईभी, एचसिभी, सिफिलिस, एचबिएजी परीक्षण किट, हट एयर ओभन, टर्निकेट, डिमर लगायतका महत्वपूर्ण उपकरणहरू प्रदान गरिएको अस्पतालले जनाएको छ । यी सामग्रीहरू अस्पतालको प्रयोगशाला तथा ओपीडी सेवामा प्रयोग गरिनेछन् । उपकरण हस्तान्तरण कार्यक्रम भालुबाङ अस्पतालका प्रमुख डा. आकाश बेलबासीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष डा. बेलबासीले सहकारी संस्थाले गरेको सहयोगले अस्पतालको सेवा क्षमता अभिवृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सहकारी संस्थाबाट आएको यो सहयोगले बिरामीहरूको परीक्षण तथा उपचार सेवामा प्रत्यक्ष लाभ पुग्नेछ । अस्पताल र समुदायबीचको सहकार्य स्वास्थ्य क्षेत्रका लागि अत्यन्त आवश्यक छ ।”

कार्यक्रमका विशिष्ट अतिथि समय बचत तथा कृषि सहकारी संस्था, भालुबाङका अध्यक्ष प्रेम नारायण खनालले सहकारी संस्थाको सामाजिक उत्तरदायित्वबारे धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सहकारी संस्था केवल आर्थिक कारोबारमा मात्र सीमित नहुने, समाजको स्वास्थ्य, शिक्षा र समग्र विकासमा पनि योगदान दिनुपर्ने हाम्रो मान्यता हो । भालुबाङ अस्पतालमार्फत आम नागरिकले राम्रो स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो ।” आगामी दिनमा पनि संस्थाले सामाजिक क्षेत्रमा यस्ता सहयोग निरन्तर गर्दै जाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा अतिथि समय बचत तथा कृषि सहकारी संस्था भालुबाङका उपाध्यक्ष गिर बहादुर पौडेलले अस्पताल र सहकारीबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारी संस्थाका सदस्यहरू हरी प्रसाद सुवेदी, जीव राज पोख्रेल, विजुला खत्री क्षेत्री, ढुण्डिराज भट्टराईको उपस्थिति रहेको थियो । साथै सीता पाण्डे, केशव राज खनाल, कुमारी जी.सी., हिमाल एम.सी., भान बहादुर घर्ति मगरलगायतको उपस्थिति रहेको थियो । अस्पताल पक्षबाट डा. रणबहादुर बोगटीसहित अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भालुबाङ अस्पतालका प्रशासन शाखा प्रमुख खुम्भ राज गिरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *