संघर्षबाट सुरक्षासम्म : एकल महिला चौधरीको जीवनमा नया आयाम

टेकबहादुर पुन

देउखुरी । राजपुर गाउँपालिका वडा नम्बर २ पश्चिम गैरा निवासी ४१ वर्षीया एकल महिला कैलाशपती चौधरीको परिवारका लागि नयाँ पक्की घर निर्माण गरी गृहप्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङको आर्थिक सहयोग र राजपुर गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त घर एकल तथा अति विपन्न महिलाका लागि सुरक्षित आवासको उदाहरण बनेको छ । घर निर्माणका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङबाट ४ लाख २५ हजार रुपैयाँ र राजपुर गाउँपालिकाबाट १ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको थियो । संयुक्त लगानीमा दुई कोठा र बाथरुम सहितको पक्की घर निर्माण सम्पन्न भएपछि कैलाशपती चौधरीको परिवारले लामो समयपछि सुरक्षित बसोबासको अनुभूति गर्न पाएको छ । पाँच वर्षअघि श्रीमान् पानीमा डुबेर निधन भएपछि कैलाशपती चौधरीको जीवनमा ठूलो संकट आइपरेको थियो ।

श्रीमान् गुमाएपछि दुई सन्तानको पालनपोषण, शिक्षादीक्षा र दैनिकी चलाउन उनले अरूको घर-घरमा मजदुरी गर्दै संघर्षपूर्ण जीवन बिताउनु परेको थियो । आर्थिक अभावका कारण पुरानो कच्ची घर मर्मत गर्नसमेत नसक्दा वर्षातको समयमा घर डुबानमा पर्ने, बस्नै नसक्ने अवस्था सिर्जना हुँदै आएको थियो । आफ्नै घर बनाउने कुरा उनका लागि केवल सपना मात्र थियो । “धेरै रात भोकै बिते, पानी चुहिने घरमा बच्चा अँगालो हालेर बस्नुपथ्र्यो,” उनले गृहप्रवेश कार्यक्रममा भावुक हुँदै भनिन्, “आज आफ्नै पक्की घरमा छिर्दा सपना जस्तै लागिरहेको छ ।”

कैलाशपती चौधरीका छोरा आशिक चौधरी हाल कक्षा ७ मा अध्ययनरत १३ वर्षका छन् भने छोरी अनिशा चौधरी पनि कक्षा ७ मै अध्ययनरत ११ वर्षीया हुन् । सुरक्षित घर पाएसँगै बालबालिकाको पढाइ र भविष्यप्रति परिवारमा नयाँ आशा जागेको छ । यस वर्ष राजपुर गाउँपालिकामा अति विपन्न तथा दुखी तीन परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको ग्रामीण महिला उत्थान केन्द्र दाङले जनाएको छ । यसअघि वडा नम्बर ६ की दुर्गा चौधरी र वडा नम्बर १ की निर्मला चौधरीको परिवारलाई पनि घर हस्तान्तरण गरिएको थियो । संस्थाले विशेषगरी एकल महिला, अति विपन्न तथा जोखिममा रहेका परिवारलाई लक्षित गर्दै सुरक्षित आवास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्थाकी अध्यक्ष आस्मानी चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्य एबम् पालिकाकि उपाध्यक्ष धनपतीदेबी यादब र प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीको विशिष्ट आतिथ्यमा घर हस्तान्त्रण तथा गृह प्रबेश कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष बुढाथोकीले स्थानीय सरकार एकल महिला र विपन्न परिवारको पक्षमा निरन्तर सहकार्य गर्न तयार रहेको बताए । “घर मात्र होइन, यो आत्मसम्मान र सुरक्षाको आधार हो,” अध्यक्ष बुढाथोकीले भने, “यस्ता कार्यक्रमलाई गाउँपालिकाले आगामी दिनमा पनि निरन्तरता दिनेछ ।”

कार्यक्रममा पालिका उपाध्यक्ष यादब र प्रशासकिय अधिकृत डाँगीले सामाजिक संघसंस्थाको सहकार्यमा गरिएको यस्तो पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउने कुरामा जोड दिए । नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले मन्तव्य राख्दै एकल महिला र विपन्न परिवारका पीडा उजागर गर्दै यस्ता कार्यक्रमले उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिने बताए । वडा नम्बर २ का वडाध्यक्ष ओमप्रकाश यादवले स्थानीय तहबाट आवश्यक सहयोग र सहजीकरण निरन्तर गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सँस्थाकि अध्यक्ष आस्मानी चौधरीले सुरक्षित आवास कार्यक्रममार्फत केवल घर मात्र नभई आशा, आत्मविश्वास र सम्मान प्रदान गरिएको उल्लेख गरिन ।कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक पार्वती बस्नेतले गरेकि थिईन । नयाँ पक्की घरमा गृहप्रवेशसँगै कैलाशपती चौधरीको संघर्षपूर्ण जीवनमा नयाँ अध्याय सुरु भएको छ । सुरक्षित छानामुनि बस्न पाउँदा उनका दुई सन्तानको भविष्य पनि उज्यालो हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *