राप्ती गाउँपालिकाको आठौँ अधिवेशन सुरु, तीन महत्वपूर्ण विधेयक पेश
तुलबहादुर कँवर मगर
मसुरिया, २४ पुस । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशनको सुरु भएको हो । अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका तीन वटा विधेयक पेश गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, २०८२ सभामा पेश गरेकि हुन ।
त्यसैगरी, सभाका सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक, २०८२ र सभा सदस्य तथा सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले कर्मचारीहरूको सेवा, सुविधा तथा शर्त सम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक, २०८२ पेश गरेका छन् । यस्तै, सभा सदस्य तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीले राप्ती गाउँपालिकाको दलित सशक्तिकरण सम्बन्धी व्यवस्था विधेयक, २०८२ सभामा पेश गरेका छन् । सभामा पेश गरिएका विधेयकहरू अधिवेशनकाे आगामी बैठकमा छलफल गरि निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।
अधिवेशनको शून्य समयमा सभाका सदस्यहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विविध विषयहरू उठान गर्नुका साथै साे सँग सम्बन्धित रचनात्मक सुझावहरु समेत राखेका थिए । सभाका अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समग्र विकास, सुशासन तथा जनताको जीवनस्तर सुधारका लागि निरन्तर प्रयत्नशील रहेको बताए । अधिवेशनको आगामी दोस्रो बैठककाे मिति केही दिनपछि सूचना मार्फत जानकारी गराइने पालिकाले बताइएको छ ।





