गढवामा हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित

आलोक भावुक

गढवा,१९ पुष । दाङ देउखुरीको गढवा गाउँपालिकामा दोस्रो पटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन् ।

गढवा उद्योग वाणिज्य संघको आयोजना, गढवा गाउँपालिकाको संरक्षकत्व तथा गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजनाको समन्वयमा गढवा कृषि तथा पशु हाट बजार सञ्चालन गरिएको हो । गढवा गाउँपालिका ६ गढवा बजारमा निर्माण भएको गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्र परिसरमा ( ईलाका प्रहरी कार्यालय गढवाको उत्तर तर्फ) सञ्चालित हाटबजारमा करिब ३५ जना किसान तथा स्थानीय व्यापारीहरुले आफ्नो उत्पादन बिक्रीका लागि राखेका स्टलमा राखेर बिक्री गरेका छन् ।

किसान तथा व्यापारीले तरकारी, फलफूल, कपडा, ढकिया, साबुन, हार्पिक,,फुलका बेर्ना,खसी, कुखुरा ,च्याउ सुँगुर, खसीबोका लगायतका सामान समेत प्रदर्शन तथा बिक्री गरेका थिए । गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले सनिवार हाटबजारको औपचारिक उद्घाटन गर्दै अबदेखि प्रत्येक सनिबार हाटबजार सञ्चालन हुने जानकारी दिए । उनले हाटबजारले किसानहरूलाई उत्पादन बिक्री गर्न सहज बनाउने र बिचौलियाको चलखेललाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे । “हाटबजार सञ्चालन नहुँदा किसानले आफ्नो उत्पादन टोकरीमा राखेर घरघरमा बेच्नुपर्ने गढवा बजारको चोकमा बेच्नु पर्ने बाध्यता थियो ।

अब, हाटबजारले किसानलाई उत्पादनको उचित मूल्य दिलाउन मद्दत पुर्‍याउनेछ,” अध्यक्ष पोख्रेलले बताए । साथै, उनले हाटबजारको व्यवस्थापनलाई दीर्घकालीन बनाउने विशेष योजना अगाडि सारिएको जानकारी समेत दिए । त्यसैगरी गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले हाटबजारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र कृषकहरूलाई थप लगानी गर्न प्रोत्साहन दिने बताए । “हाटबजारले उपभोक्ताहरूलाई गुणस्तरीय र सस्तो उत्पादन उपलब्ध गराउनेछ,” उनले भने । हाटबजारले स्थानीय स्तरमा रोजगारीको अवसर सृजना गर्ने र कृषिमा आधारित अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताए ।

गढवा कृषि तथा पशु हाट बजार गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम पालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आलेमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा,
,कार्यापालिका सदस्य, गढवा उद्योग वाणिज्य संघका पदाधिकारी, गढवा का बुद्धीजिवि, समाजसेवी उद्योगी व्यापारी व्यवसायी, उद्यमी महिला पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण रेडियो साझा आवाजका प्रवन्धक दुख हरण यादवले गर्नु भएको थियो । हाटबजारको नियमित सञ्चालनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *