राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

तुलबहादुर कवँर मगर

मसुरिया, २० पुस । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार गाउँपालिकाको सभाहल, मसुरियामा सम्पन्न भएको छ ।

गाउँपालिका तथा मातहतका कार्यालयहरूको काम–कारबाही, सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गराई सेवाप्रति उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । कार्यक्रममा अध्यक्ष विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकमैत्री सेवा प्रवाहमा पालिका निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकहरू प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै त्यसप्रति पालिका सचेत रहेको धारणा राखे । अध्यक्ष विष्टले जनप्रतिनिधि र कर्मचारी इमानदार भए मात्र राष्ट्रले सही निकास पाउने बताउँदै राप्तीवासीका रचनात्मक सुझाव, सल्लाह र खबरदारी निरन्तर आवश्यक रहेको बताए । सीमित स्रोत–साधनका कारण काम ढिलो–चाँडो हुन सक्ने उल्लेख गर्दै उनले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी जनताको आवश्यकता पूरा गर्ने गरी पालिका अघि बढिरहेको जानकारी दिए ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पहिलो चौमासिक अवधिसम्ममा गाउँपालिकाले गरेका काम र प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले गाउँपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी नागरिक धारणा समेटिएको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाइमा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत, सुशासनलगायत गाउँपालिका तथा मातहतका कार्यालयबाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा र सुझाव राखेका थिए । सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासामा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक तथा विभिन्न शाखा प्रमुखहरूले जवाफ दिए । स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने महत्वपूर्ण औजारका रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम राप्ती गाउँपालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *