स्थानिय सरकार र सुरक्षा निकायलाई लमही चेम्बरको ध्यानाकर्षण-लमही गोली काण्ड

टेकबहादुर पुन

लमही । दाङको लमहीमा व्यवसायीमाथि गोली चलाएको घटनाप्रति चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ ।

गत शनिबार दिउँसो करिब १:३५ बजे लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी व्यवसायी घाइते बनाइएको घटनाप्रति लमही चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । चेम्बरले सुरक्षित व्यावसायिक वातावरण विहीन हुँदै गएको घटनाले व्यवसायी समुदाय त्रसित बनेको जनाउँदै तत्काल घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीद्वारा जारी विज्ञप्तिमा लगातार बढिरहेका आपराधिक गतिविधिहरूले व्यावसायिक सुरक्षा कमजोर भएको उल्लेख गरिएको छ । उनी भन्छन्, “पछिल्लो समय लमही क्षेत्रमा व्यापारी तथा सर्वसाधारण सुरक्षित छन् भन्ने अनुभूति हुन छाडेको छ। यस्तो घटना दोहोरिन नदिन तत्काल सुरक्षा व्यवस्थामा कडाइ आवश्यक छ ।”

विज्ञप्तिमा घटनामा घाइते व्यवसायी दीपक सुनारको स्वास्थ्य लाभको कामना गर्दै रातको समयमा समेत बजार क्षेत्रमा प्रहरी गस्ती निरन्तर हुनुपर्ने माग राखिएको छ। चेम्बरले प्रहरी प्रशासनले घटनालाई गम्भीर रुपमा लियाेस र बजार क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न प्रभावकारी कदम चालियोस् भन्ने अपेक्षा गरिएको छ । यसबाहेक, चेम्बरले व्यापार व्यवसाय सुचारु तथा सुरक्षित राख्ने दायित्व राज्यको भएकाले निकायहरूबीच समन्वय वृद्धि गर्न बलियो आग्रहसमेत गरेको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन, योजनाबद्ध अपराध नियन्त्रण तथा व्यवसायीलाई सुरक्षा प्रत्याभूति दिलाउन आवश्यक कदम चाल्न चेम्बरले माग गरेको छ ।

साथै चेम्बरले स्थानिय सरकार, वडा सरकार र सुरक्षा निकायलाई पनि ध्यानाकर्षण गराएको छ । अध्यक्ष बुढाथोकी ध्यानाकर्षण पत्र बोकेर कार्यालय पुगी छलफल समेत गरेका छन । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी, लमही-५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेय लाई चेम्बरले ध्यानाकर्षण पत्र बुझाउदै छलफल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *