राप्तीमा अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य चेकजाँच

तुलबहादुर कवँर मगर

मसुरिया, ६ मंसिर । दाङको राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परीक्षणसम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ ।

विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोकको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा शनिबार गाउँपालिकाको सभाहल मसुरियामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ४३ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । त्यसमध्ये ३३ जनाले फिजियोथेरापी सेवा प्राप्त गरेका छन् । ११ जनालाई कृतिम अंग तथा सहायक सामग्री प्रदान गर्नका लागि नाप लिइएको छ भने ४ जनालाई सहायक सामग्री प्रदान गरिएको छ ।

यस्तै, विभिन्न खुट्टा, हात तथा अन्य शारीरिक समस्या भएका ४ जना व्यक्तिहरुलाई थप उपचार तथा शल्यक्रियाका लागि बनेपास्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा रिफर गरिएको छ । शिविरमा सहभागी व्यक्तिहरुलाई निःशुल्क फिजियोथेरापी, सहायक सामग्रीसँगै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको पुनर्स्थापना केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज लेखनाथ आचार्यले जानकारी दिए ।

शिविरमा सर्जन डा. नन्द किशोर शहा, फिजियोथेरापिस्ट प्रशंसा भण्डारी र दुर्गा खनाल, सहायक सामग्री प्राविधिक श्याम दाहाल, नर्स प्रतिशा श्रेष्ठ, परामर्शकर्ता मिनबहादुर चन्दलगायतको टोलीले सेवा प्रदान गरेका थिए । शिविरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पुनर्स्थापना केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज लेखनाथ आचार्य, सीबीआर संयोजक नित्रबहादुर देउजा, जीबी चिन्तनलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *