गढवामा बिद्यार्थीका लागी कुष्ठरोग स्क्रिनिङ परिक्षण सुरु
आलोक भावुक
गढवा,२८ कार्तिक । गढवामा बिद्यालय स्तरिय कुष्ठरोग स्क्रिनिङ कार्यक्रम सुरु भएको छ । गढवा गाउँपालिकाको समन्वयमा विद्यालयस्तरमै कुष्ठरोग पहिचानका लागि स्क्रिनिङ कार्यक्रम सुरु गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र, फेयर मेड फाउन्डेशन नेपाल र प्रेरणा परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको कार्यक्रमअन्तर्गत आज (बिहीबार) गढवा गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय, बिद्यानगर गोबरडिहामा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरि सुरु गरिएको छ । कार्यक्रममा १ सय ११ जना छात्रा र ८१ जना छात्रा गरी कुल १ सय ९२ जना विद्यार्थीको कुष्ठरोग स्क्रिनिङ गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । गाउँपालिकाले विद्यालय केन्द्रित अभियानमार्फत बालबालिका माझ कुष्ठरोगबारे सचेतना अभिवृद्धि र समयमै रोगको पहिचान गर्ने उद्देश्य लिएको जनाएको छ ।

यसअघि जनता माध्यमिक विद्यालय, गढवा मा पनि सोही उद्देश्यका साथ कुष्ठरोगी खोज–पडतल कार्यक्रम सम्पन्न भइसकेको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रमको अनुगमन गढवा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कैलाश चन्द्र चौधरी र प्रेरणा परियोजनाका सामाजिक परिचालक अमित यादवले गरेका थिए । प्रमुख चौधरीका अनुसार गाउँपालिकामा कुष्ठरोगी देखिएका वडाहरूमा विशेष प्राथमिकताका साथ स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको छ । उनका अनुसार विद्यालयस्तरका यस्ता अभियानहरूले रोग पहिचान, उपचारमा सहजता र समुदायमा कुष्ठरोगबारेका भ्रम हटाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।





