राप्तीका किसानले पाए ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ
तुलबहादुर कवँर मगर
मसुरिया, २५ कार्तिक । दाङको राप्ती गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा २ सय ३ क्विन्टल ४० केजी उन्नत जातको गहुँको बिउ वितरण गरेको छ । कृषि उत्पादनमा वृद्धि गर्नुका साथै कृषकहरूको आर्थिक बोझ कम गर्ने उद्देश्यले पालिकाले बिजय, बाणगंगा र गौतम जातका बीउ वितरण गरेको हो ।

कृषि शाखा प्रमुख बरसाती गडरियाका अनुसार बिजय जातको १ सय ६१ क्विन्टल ६० केजी, बाणगंगा जातको १९ क्वीन्टल ४० केजी तथा गौतम जातको २२ क्विन्टल ४० केजी बीउ कृषकहरूलाई उपलब्ध गराइएको छ । प्रति किलोग्राम ७४ रुपैयाँ पर्ने बीउलाई पालिकाले अनुदान पश्चात ३७ रुपैयाँमा वितरण गरेको हो । यसअघि पालिकाले बीउ माग सम्बन्धी सूचना प्रकाशित गरेपछि कृषकहरूले आफ्ना-आफ्ना वडामार्फत आवश्यक परिमाण टिपाएका थिए । सोही मागको आधारमा बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
गहुँका यी बीउहरू युनिभर्सल सिड कम्पनी, भैरहवा बाट खरिद गरी वितरण गरिएको हो। राप्ती गाउँपालिकाले हरेक वर्ष कृषकलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्दै आएको छ । कृषि उत्पादनलाई दिगो र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइने पालिकाले जनाएको छ ।





