देशलाई शान्तिपूर्ण तवरबाट निकास दिनुपर्ने नागरिक समाज दाङको आह्वान

घरसञ्चार

दाङ, असोज २८ । देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको र सामाजिक, आर्थिक तथा प्रशासनिक क्षेत्रहरुमा देखिएको अव्यवस्थाप्रति नागरिक समाज दाङले गम्भीर चिन्ता प्रकट गरेको छ ।

मङ्सिर २७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै समाजले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पछिको अवस्थाले देशलाई तरल बनाएको भन्दै सबै पक्षहरूलाई सहमतिका साथ शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको हो । प्रेस विज्ञप्तीमा भनिएको छ, “देशमा राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र वैचारिक रुपमा समेत विकृति देखिएको छ । अपराधीहरू जेलबाट फरार छन्, केही हतियार सरकारी नियन्त्रणबाहिर छन्, न्यायालयहरू अस्तव्यस्त छन् र सरकारी कार्यालयहरूले सेवा प्रवाह गर्न सकेका छैनन् ।”

समाजका संयोजक नीमबहादुर थापा र सचिव नारायण प्रसाद श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा देशलाई यस तरल अवस्थाबाट निकाल्न सबै नेपालीबीच सहमति र एकताको आवश्यकता औंल्याइएको छ । नागरिक समाज दाङले विज्ञप्ती मार्फत सुरक्षाको विषयमा समाजले जनताको ज्यान र सम्पत्तिको सुरक्षा सर्वोपरि भएको बताउँदै जेलबाट फरार भएका व्यक्तिहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । साथै, फरार व्यक्तिका परिवार र समुदायलाई उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्न अनुरोध गरिएको छ । लुटिएका, भेटिएका वा संरक्षणमा रहेका हतियारहरू सम्बन्धित निकायमा बुझाउन पनि समाजले सबै नागरिकलाई कर्तव्यबोध गर्न आग्रह गरेको छ ।

सुशासनको पक्षमा नागरिक समाजले जुनसुकै अनियमितता, भ्रष्टाचार र कुशासनका विरुद्ध निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न सरकार र राजनीतिक दलहरूलाई आह्वान गरेको छ । साथै, सचेत नागरिकहरूले पनि सुशासन स्थापनामा सहयोग पुर्‍याउने भावना विकास गर्नुपर्ने बताइएको छ । शान्तिपूर्ण निकासका लागि समाजले सबै राजनीतिक दल, आन्दोलनरत जेन्जी युवाहरू, अधिकारकर्मी, सञ्चारकर्मी र सरोकारवाला पक्षहरूलाई पुनर्निर्माण र पुनर्जागरणको भावनासहित संसदीय निर्वाचनमा सहभागी भई देशलाई निकास दिन अनुरोध गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, “जेन्जी आन्दोलनको मूल उद्देश्य भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल बनाउनु थियो, तर त्यस क्रममा जे हुन नहुने थियो, त्यही भयो । अहिले आवश्यक कुरा भनेको विगतको समीक्षा र शान्तिपूर्ण मार्गबाट देशलाई निकास दिनु हो ।” नागरिक समाज दाङ देउखुरी परिवारले जारी गरेको यो वक्तव्यले देशभित्र देखिएको अस्थिरता र अविश्वासका वातावरणलाई सम्बोधन गर्दै एकता, शान्ति र सहमतिको मार्ग अपनाउन सबैलाई आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *