पत्रकारितामा एआई : एआईलाई डर होइन, अवसरका रूपमा लिनुपर्छ-पाेखरेल

टीकाबहादुर बस्नेत
दाङ । नेपाल पत्रकार महासंघ दाङले ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने धारणा राखे । उनका अनुसार प्रविधिलाई डर होइन, दक्षता बनाउन सिक्नुपर्ने बेला आएको बताए । “एआईले पत्रकारिताको इमान, अनुसन्धान र विश्लेषण क्षमतालाई नयाँ उचाइमा पु¥याउन सक्छ”, पोखरेलले भने, “नेपाल पत्रकार महासंघले प्रविधि र पत्रकारिताको सहअस्तित्वबारे अध्ययन, संवाद र नीतिगत तयारी अघि बढाइरहेको जानकारी पनि दिए ।
एआई नीतिको पालना गर्दै पत्रकारितामा एआईको पालना गर्न आग्रह गर्दै पाखरेलले भने, “पत्रकारहरुले एआई नीतिको पालना गर्नुपर्दछ । ‘पत्रकार महासंघले एआई र पत्रकारिता’ सम्बन्धी नीति संवाद र अनुसन्धान केन्द्रित कार्यक्रम श्रृंखला सञ्चालन गर्नुपर्छ ।”
पोखरेलका अनुसार एआईको प्रयोगले समाचार संकलन, सम्पादन र वितरण प्रणालीमा गति ल्याउने भए पनि यसको जिम्मेवार प्रयोगका लागि पत्रकारहरू नै अग्रमोर्चामा रहनुपर्नेछ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले महासंघले देशभर एआई साक्षरता र डिजिटल दक्षता सम्बन्धी कार्यक्रम विस्तार गर्ने बताए । “हामीले अब एआईलाई पत्रकारहरूको दक्षता बढाउने औजारको रूपमा लिँदै प्रदेश र जिल्लास्तरमा नियमित तालिम सञ्चालन गर्ने तयारी गरेका छौं”, प्रियासनले भने ।
उनका अनुसार महासंघले एआई साक्षरतासँगै समाचार लेखन, तथ्यजाँच र सम्पादनमा डिजिटल उपकरणहरूको सही प्रयोगबारे पनि तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । “एआईले सम्पादक र संवाददाताबीचको सहकार्यलाई नयाँ रूप दिन सक्छ तर त्यसका लागि नैतिकता र पारदर्शितामा कुनै सम्झौता गर्न हुँदैन”, उनले जोड दिए । उक्त अवसरमा प्रशिक्षक अजय शर्माले पत्रकारितामा एआईको प्रयोग, सम्भावना, जोखिम र भविष्यबारे विस्तृत धारणा व्यक्त गरे । उनले एआईलाई पत्रकारको प्रतिस्पर्धी नभई सहयोगी उपकरणका रूपमा बुझ्न आग्रह गरे ।
“एआई कुनै व्यक्ति होइन, यो एउटा उपकरण हो–जसको प्रभाव प्रयोगकर्ताको उद्देश्यमा निर्भर गर्छ । यदि पत्रकारले यसलाई सृजनात्मक, अनुसन्धानमुखी र तथ्यआधारित समाचार उत्पादनमा प्रयोग गरे भने, एआई पत्रकारिताको क्षितिज विस्तार गर्ने ऐतिहासिक माध्यम बन्न सक्छ”, शर्माले भने । उनका अनुसार एआईले पत्रकारिताको तीन आधारभूत क्षेत्र–समाचार संकलन, सम्पादन र वितरणमा नयाँ मोड ल्याइरहेको छ । “संकलनका तहमा एआईले डेटा–विश्लेषण, तथ्य–जाँच र ट्रेन्ड विश्लेषणमा सहयोग गर्न सक्छ भने सम्पादनका तहमा भाषिक शुद्धता, शीर्षक निर्माण र तथ्य–सत्यापनमा उपयोगी बन्न सक्छ”, शर्माले भने “वितरणमा एआईले दर्शकको रुचिअनुसार समाचार सामग्री समायोजन गर्न, व्यक्तिगत सिफारिस प्रणालीमार्फत समाचार पु¥याउन र समयमै सामग्री अपडेट गर्न मद्दत गर्छ ।”
शर्माले थपे, “तर यसको अर्थ यो होइन कि पत्रकारको भूमिका समाप्त हुन्छ । बरु पत्रकारको विवेक, संवेदना र नैतिक जिम्मेवारी अझ महत्वपूर्ण बन्नेछ । एआईले मानवीय संवेदना महसुस गर्न सक्दैन, त्यसैले समाचारमा मानवीय दृष्टिकोण र सामाजिक जिम्मेवारी पत्रकारकै हातमा रहन्छ ।” उनले नेपालमा एआई प्रयोगका चुनौतीका रूपमा प्रविधिको पहुँच, भाषागत असमानता र नीति–संरचनाको कमीलाई औंल्याए । उनका अनुसार, नेपाली भाषामा एआई प्रणालीको सीमित विकासले स्थानीय समाचार मिडियालाई अझ सजग र सृजनशील बन्न प्रेरित गर्नुपर्छ ।
“हामीले प्रविधिलाई आफ्नै भाषामा अनुकूल बनाउन सकेनौं भने हामी सधैं अनुवादित युगमा रहन्छौं,” शर्माले भने । उनले पत्रकारहरूलाई एआई प्रयोगमा ‘डिजिटल नैतिकता’ र ‘डाटा जिम्मेवारी’ पालन गर्न आग्रह गरे । “एआईले जति शक्ति दिन्छ, त्यति नै जिम्मेवारी पनि थप्छ। कुनै पनि समाचार तयार गर्दा त्यसको स्रोत, उद्देश्य र प्रभावबारे सजग हुनुपर्छ,” उनले भने । उनका अनुसार एआईको विवेक भन्दा पत्रकारको विवेक ठूलो हुन्छ, त्यसैले ‘मानव नियन्त्रणमा रहेको एआई’ नै पत्रकारिताको सही रूप हो । शर्माले अभिमुखीकरण कार्यक्रमलाई पत्रकारहरूमा एआईप्रतिको बुझाइ, जिज्ञासा र उत्तरदायित्व जगाउने ऐतिहासिक पहलका रूपमा लिएका छन् ।
“दाङबाट सुरु भएको यो अभियानले नेपालभर पत्रकारिताको प्रविधि–साक्षरता अभिवृद्धि गर्नेछ,” उनले निष्कर्ष निकाले । उक्त अवसरमा प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शरद अधिकारीले पत्रकारितामा एआईको प्रयोगसँगै नियमन र नीति निर्माणमा ढिलाइ गर्न नहुने धारणा राखे । “एआईले समाचार उत्पादनमा सहजता ल्याउँछ, तर स्रोतको विश्वसनीयता, तथ्यपरकता र सम्पादकीय उत्तरदायित्व सुनिश्चित गर्न नियमनकारी निकायहरूको तयारी जरुरी छ”, अधिकारीले भने । उनले एआईद्वारा सिर्जित सामग्रीको सत्यापन, श्रेय र जिम्मेवारीबारे स्पष्ट कानुनी प्रावधान नहुँदा दुरुपयोगको जोखिम बढ्ने बताए । “एआईले झुटा सामग्री फैलाउन सक्ने सम्भावना रहन्छ, त्यसैले पत्रकारहरूले ‘मानवीय विवेक’लाई सधैं अग्रता दिनुपर्छ”, उनले थपे ।
कार्यक्रमका अध्यक्ष सन्तोष सुवेदीले समापन मन्तव्य दिँदै दाङका पत्रकारहरू अब एआई प्रयोगमा अभ्यासतर्फ उन्मुख हुने विश्वास व्यक्त गरे । महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष सुवेदीले यस खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । “यस कार्यक्रमले दाङका पत्रकारहरूमा एआईप्रति जिज्ञासा र चेतना दुवै बढाएको छ । अब हामीले यसलाई व्यवहारमा उतार्ने अभ्यास सुरु गर्नुपर्छ”, सुवेदीले भने । उनले महासंघले यस्ता ज्ञानमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भने, “एआईले पत्रकारिताको व्यावसायिकता, निष्पक्षता र तीक्ष्णता बढाउने अवसर प्रदान गरेको छ ।” कार्यक्रमको सञ्चालन महासंघका सहसचिव प्रकाश चौधरीले गरेका थिए ।