गढवामा प्रयोगमा आधारित खगोल साक्षरता कक्षा संचालन

आलोक भावुक

गढवा, ३० भदौं । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा र टेस्ला साइन्स सेन्टरको समन्वयमा गढवा गाउँपालिकाभित्रका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गर्दै प्रयोगमा आधारित खगोल साक्षरता कक्षा अभियान संचालन गरिएको छ ।

कक्षा संचालन नासाको स्पेस एप्स च्यालेन्जका नेभिगेटर तथा इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनका सिटिजन साइन्टिस्ट अरुण लोहारले गरिरहेका छन् ।उनले सन् २०२१ मा नासाको स्पेस एप्स च्यालेन्जमा सहभागी भई विश्वभरका वैज्ञानिक, प्रोग्रामर र इनोभेटरहरुसँगै ग्लोबल सिटिजन साइन्स प्रोजेक्टमा विभिन्न समस्या समाधानमा योगदान पुर्याउदै आएका छन् ।

खगोल विज्ञानबारे जनचेतना फैलाउन लोहारले लेक्चर सेसन र नाइट अब्जर्भेसन गरी दुई तरिका अपनाउँदै आएका छन् । लेक्चर सेसनमा विद्यालयमै ४० मिनेटको कक्षा लिई ब्रह्माण्डको उत्पत्ति, ताराको जन्म र मृत्यु, उल्कापिन्ड, रकेट साइन्स तथा स्याटेलाइट प्रविधिबारे सरल तरिकामा प्रस्तुत गरिन्छ । “हामी बच्चाको उमेर र बुझ्ने क्षमताअनुसार कक्षा बनाउँछौं । सानालाई सरल, ठूलालाई गहन तरिकाले बुझाउँछौं,” उनले बताए । नाइट अब्जर्भेसनमा भने टेलिस्कोप मार्फत विद्यार्थीहरुलाई चन्द्रमा, ग्रह र ताराहरू प्रत्यक्ष अवलोकन गराइने गरिएको छ ।

“विद्यार्थीहरुले विज्ञानलाई बुझ्ने दृष्टिकोण फरक बनोस्, ब्रह्माण्ड, तारा, टेलिस्कोप लगायतका विषयलाई पुस्तकमा मात्र होइन, प्रत्यक्ष अभ्यास मार्फत बुझ्न सकून् भन्ने उद्देश्यले टेस्ला साइन्स सेन्टर र विभिन्न विद्यालयहरुसँग मिलेर यो अभियान सञ्चालन गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका कार्यक्रम अधिकृत हेमराज शर्माले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब १४०० विद्यार्थी यस अभियानबाट लाभान्वित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *