भ्रष्टचार नियन्त्रण सम्बन्धी लमहीमा अन्तरक्रिया

घरसञ्चार
दाङ । देउखुरीको लमही नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्वन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका उजुरीहरु धेरै नै आएकाले स्थानीय तहमा सचेतना प्रवाह गर्ने उद्देश्यले भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्वन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले सुशासन प्रवर्द्वनका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरु महत्वपूर्ण रहेको बताए । उनले सार्वजनिक पदधारण गरेका व्यक्तिहरु राष्ट्रप्रति उत्तरदायी भई, नैतिक दायित्व बोध गर्दै, पारदर्शिता र विधिको परिधिमा रही कार्य गर्नुपर्नेमा जोड दिए । नगर प्रमुख चौधरीले भ्रष्टाचारले राष्ट्रको स्रोत र लगानीको दुरुपयोग हुने भन्दै यसलाई रोक्न सबै नागरिक, समाजका हरेक तह र तप्काबाट सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख चौधरीले लमही नगरपालिकामा सुशासन प्रर्वद्धनको लागि सरोकारवालाहरुसँग समय समयमा छलफल तथा सर्वपक्षीय वैठक सञ्चालन हुँदै आइरहेको बताउँदै भ्रष्टाचार नियन्त्रणको कार्यमा आफूहरुले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कहिलेकाही प्रतिशोधको कारणले पनि उजुरी दिँदा विकास निर्माणका कार्यहरुमा बाधा पुग्ने गरेको बताउँदै आयोगले गर्ने यस्ता कार्यक्रमले सुशासन प्रवर्द्वनमा महत्वपूर्ण भूमिका खेल्ने महसुश गर्दै कार्यक्रमको सराहना गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख चौधरीले आयोगले भ्रष्टाचार नियन्त्रणमा माथिदेखि तलसम्म निगरानी बढाउनुपर्ने बताए । उनले जनप्रतिनिधी, कर्मचारी एवं सरोकारवाला सबैको सहयोगमा पालिकालाई भ्रष्टाचारमा शून्य बनाउन सकिने विचार व्यक्त गरे । स्वास्थ्य संस्था, खानेपानी संस्था, वन लगायतमा अनावश्यक उजुरी हाल्नेको गिरोह नै भएकाले विकास निर्माणमा बाधा पुर्याएकोले अनावश्यक उजुरी गर्नेलाई दण्ड जरिवाना गराउनुपर्ने उनले बताए । कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गरे ।

कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले सबै राष्ट्रसेवक कर्मचारीहरूले जनताहरूको अपेक्षा पूरा गर्न जनकेन्द्रित भएर जिम्मेवारीपूर्ण ढंगले प्रतिवद्ध भई काम गर्नुपर्ने बताउदै अनियमितताको विषयलाईसबैले जिम्मेवार भएर चिर्न आवश्यक रहेको उल्लेख गरे । उनले कार्यक्रमको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पालिकाको तर्फबाट धन्यवाद दिँदै, पालिकाबाट बजेटको दुरुपयोग नहुने कुरामा आश्वस्त पारे । उनले अर्को आर्थिक वर्षदेखि उपभोक्ता समित मार्फत काम गर्ने योजनाहरूलाई शुन्यमा झार्ने सोच राखेको उल्लेख हुँदै प्रदेश सरकारले ठूला योजनाहरू मात्र प्राथमिकतामा राख्ने बताए । प्रदेश सरकारबाट सञ्चालन भएका योजनाहरूको अनुगमन गर्नको लागि प्राविधिकको नेतृत्वमा अनुगमन समिति गठन गरिएको जानकारी गराए । उनले कार्यक्रममा बोल्दै नगरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता जाहेर गर्दै आयोगको छानविन कार्यमा आफ्नो पालिकाबाट पूर्ण सहयोग रहने बताए । त्यस्तै कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका प्रमुख सम्भु प्रसाद रेग्मीले सहभागीहरुको प्रश्नहरुको जवाफ दिँदै भ्रष्टाचार नियन्त्रणका विभिन्न विधिहरु, अख्तियारको कार्यशैली र भ्रष्टाचारविरुद्धको कानुनी प्रक्रिया स्पष्ट पारे ।

उनले कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै, अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताएका थिए । उनले कार्यक्रममा बोल्दै भ्रष्टाचारको अवधारणा, कारण, यसको कानुनी व्यवस्था, सजाय, र नेपाल तथा विश्वभरको भ्रष्टाचारको अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । उनले भ्रष्टाचारको प्रवृत्ति, भ्रम र वास्तविकतालाई पनि विस्तृत रुपमा व्याख्या गरे ।
कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित आयोगमा पर्ने उजुरीका बिषयवस्तुहरु र उक्त विषयमा आयोगका सुझावहरुको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नेपालगंजका प्रमुख सम्भु प्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका बोल्दै उनले सहभागीहरुको जिज्ञासालाई समेत सम्बोधन गर्दै आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा प्रवर्धनात्मक, निरोधात्मक तथा दण्डात्मक कार्यहरु गर्दै आइरहेको बताउँदै भ्रष्टाचारलाई समाजको रोगको संज्ञा दिए ।

उनले स्थानीय तहले सार्वजनिक खरिदका कार्यहरु गर्दा आफै कानून बनाएर होइन की संघीय सार्वजनिक खरिद ऐन अन्तरगत रहेर कार्य गर्न निर्देशन दिँदै सुशासन प्रवर्द्वनको लागि सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहीता र सदाचारको जस्ता तत्वहरुको आवश्यकता रहेको बताए । अख्तियारको कारणले काम नरोक्न तथा विधिसम्मत कार्यहरु निर्वाध रुपमा अगाडी बढाउन आवश्यक रहेको बताउँदै उनले सुशासन प्रवर्द्वनमा पाल्पा जिल्ला स्थीत सम्पूर्ण स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुखहरुसँग सहकार्यको अपेक्षा समेत राखेको बताए ।
अन्तरक्रियामा जनप्रतिनिधिहरु, विभिन्न सरकारी विभागका प्रमुखहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वन उपभोक्ता समिति, तथा सञ्चारकर्मीहरुले आफ्नो जिज्ञासा राखेका थिए भने अख्तियारलाई विभिन्न सुभाव पनि दिएका थिए । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्वनको लागि सबैले साझा आवश्यक विचार व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी शसिराम नेपालीले यो कार्यक्रमले नगरपालिकामा सुशासन प्रवर्द्वन गर्ने र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको विश्वास व्यक्त गरे । उनले सार्वजनिक सेवाप्रदायक निकायहरूमा देखिने समस्या, सेवा प्रवाहमा पारदर्शिताको कमी, जिम्मेवारी अस्पष्टता तथा नागरिकको पहुँच अभावका विषयमा प्रश्न राखेर सुझाव दिए । अन्तरक्रियामा भाग लिदै संघसंस्थाका प्रतिनिधिहरुले अनावश्यक उजुरीले गर्दा काम गर्न गाह्रो भएकाले विकास निर्माणमा बाधा परेको गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *