नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बिहीबारदेखि निष्क्रिय हुने तयारी

घरसञ्चार
काठमाडौं, १८ भदौ । नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाललाई अनिवार्य रूपमा दर्ता गर्नुपर्ने सरकारी नियमको अन्तिम समयसीमा सकिँदासम्म नयाँ प्लेटफर्मले आवेदन नदिएकाले बिहीबारदेखि दर्ता नभएकालाई निष्क्रिय गर्ने तयारी भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार कार्यालय समय सकिए पनि अनलाइनमार्फत मध्यरातिसम्म निवेदन दिन सकिने प्रावधान छ । तर, बिहीबार बिहानसम्म पनि आवेदन नआए आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । हालसम्म भाइबर, बिटक, टिकटक, निम्बजलगायत पाँच वटा सञ्जाल सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी प्रक्रियामा छन् । बाँकी चर्चित सामाजिक सञ्जालले भने अझै सम्पर्क नगरेको मन्त्रालयले जनाएको छ ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले दर्ता नगरेका वा सम्पर्कमा नआएका सामाजिक सञ्जाललाई नेपालमा बन्द गर्ने निर्णय गरेको थियो । निर्देशिका–२०८० अनुसार नेपालमा सञ्चालन हुन चाहने सञ्जालले दर्ता अनिवार्य गर्नुपर्ने व्यवस्था छ, जसअन्तर्गत प्रयोगकर्ताको गोपनीयता, गलत सूचना नियन्त्रण र अभद्र व्यवहार रोकथाम गर्ने उद्देश्य राखिएको छ । सरकारले दर्ता प्रक्रिया ढिलो भए पनि पूरा गर्ने प्लेटफर्मलाई पुनः सक्रिय गरिने जनाएको छ । अब बिहीबार बिहानसम्म नयाँ प्लेटफर्म दर्ता प्रक्रियामा आउँछन् वा आउँदैनन् भन्ने चासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *