जापानिज इन्सेफ्लाइटिस रोग नियन्त्रण गर्न लामखुट्टेका बासस्थान खोज्दै नष्ट गर्दै

भिसुन शाही
भालुबाङ, भदौ १७ । दाङको देउखुरीमा डेँगु, जापानिज इन्सेफ्लाइटिस लगायतका रोग नियन्त्रणका लागि लामखुट्टेका बासस्थान खोज्दै नष्ट गरिएको छ ।
देउखुरी स्थित राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कीटजन्य रोगहरूको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अभिमुखिकरण सँगै बासस्थानको खोजि गरिएको हो । अभिमुखीकरण कार्यक्रममा लामखुट्टे नियन्त्रण, सरसफाइ, रोकथामका उपाय, र रोग लागेपछि गर्नुपर्ने प्राथमिक उपचार बारे विस्तृत जानकारी प्रदान गरिएको थियो । अभिमुखिकरणमा राप्ती गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक पदम पौडेल, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्ण श्रेष्ठ र जनस्वास्थ्य निरीक्षक पोषण राज शर्मा लगायतका स्वास्थ्यकर्मी हरू प्रशिक्षक थिए ।

लामखुट्टेले कुन–कुन रोग सार्छ, संक्रमण फैलिन नदिन कस्तो सावधानी अपनाउने, घर वरिपरि पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने, तथा लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा पालिका अन्तरगतका १२ वटा टोल विकास संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, रोटरी क्लब तथा अन्य उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार हालसम्म राप्ती गाउँपालिकामा २० जनाको रगत परीक्षण गर्दा २ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

राप्ती गाउँपालिकामा मात्र वडा नं. १ भालुबाङमा २ जना, वडा नं. ६ मझेरियामा २ गरी जम्मा ४ जना संक्रमित भेटिएका छन् ४ जना मध्य एक जनाको मृत्यु समेत भईसकेको छ । यसै अवसरमा चौकी प्रमुख कृष्ण श्रेष्ठले कार्यक्रममा संदेहास्पद लक्षण, रोग फैलिने सम्भावना र बच्ने उपायबारे प्रशिक्षण दिएका थिए । उनले समुदायमै सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउँदै, विद्यालय, क्लब, टोल र आम नागरिक सबैको सहकार्यमा मात्र रोग नियन्त्रण सम्भव हुने बताए । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक पोषण राज शर्माले गरेका थिए ।