गढवामा निशुल्क आँखा शिविर, ९ सय ३० जनाको स्वास्थ्य चेकजाँच

आलोक भावुक
दाङ । देउखुरी स्थित गढवाका ८ वटै वडामा
निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरिएको छ । गढवा गाउँपालिका र किभा फाउन्डेसन नेपालगन्जको समन्वय सहकार्यमा स्थानियका आँखाको निशुल्क चेकजाच गरिएको हो ।
किभा फाउन्डेसन नेपालगनन्जको आयोजना तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोग तथा गढवा गाउँपालिकाको सहकार्य समन्वयमा गढवा गाउँपालिकाको ८ वटै वडा कार्यालयमा ८ दिन सम्म निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरी आँखा चेकजाँच गरिएको हो । जस अन्तर्गत वडा नम्बर १ मा १३ पुरुष र ३२ महिला सहित ४९ जनाले सेवा लिएकोमा ५ जना मोतियाबिन्दुको विरामी फेला परेका छन । त्यसैगरी वडा नम्बर २ मा ५२ पुरुष र ७७ महिला गरी १ सय २५ जना मध्य २९ जना मोतियाबिन्दुको विरामी भेटिएका छन् । वडा नम्बर ३ मा सञ्चालन भएको निशुल्क शिविरमा ५९ पुरुष र ९३ महिला गरी १ सय २५ जनाले सेवा लिएको थियो जसमा १७ जना मोतियाबिन्दुको विरामी छन् ।

वडा नम्बर ४ मा मा सञ्चालन भएको शिविरमा ६४ पुरुष र १ सय १५ महिला गरी १ सय ७८ जनाले आँखा चेकजाँच गराएका थिए जसमा २६ जना मोतियाबिन्दुको विरामी भेटिएका छन् । त्यसैगरी वडा नम्बर ५ मा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ३५ पुरुष र ९५ महिला गरी १ सय ३० जना मध्य २० जन मोतियाबिन्दु भएका बिरामीको पहिचान भएको छ । त्यसैगरी वडा नम्बर ६ को शिविरमा ५७ पुरुष र १ सय १० महिला गरी कुल १ सय ६७ जनाले आँखा चेकजाँच गराएकोमा ३३ जना मोतियाबिन्दुको विरामी भेटिएका छन् । त्यसैगरी वडा नम्बर ७ मा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ४६ पुरुष र ५९ महिला गरी कुल १ सय ५ जनाले सेवा लिएकोमा १३ जना मोतियाबिन्दु भएकाहरुको पहिचान भएको छ ।
वडा नम्बर ८ कोइलाबासमा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ९ पुरुष र ११ महिला गरी २० जनाको आँखा चेकजाँच गरिएकोमा ३ जना मोतियाबिन्दु भएका बिरामीहरु छन् । कुल सबै वडामा गरि ९ सय ३० जनाको आँखा चेकजाँच गरिएको छ । जसमध्य १ सय ४६ जना मोतियाबिन्दु भएका बिरामीहरुको पहिचान भएको कार्यक्रम संयोजक व्रिजेश मिश्रले जानकारी दिए । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले यस किसिमका निशुल्क स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले भने, “स्वास्थ्य नै समृद्ध जीवनको आधार हो । आँखा जस्तो संवेदनशील अंगको उपचारमा कुनै नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हामीले सबै वडामा आँखा शिविर पुर्याएका हौं ।

यसले ग्रामीण बस्तीका आम नागरिकलाई राहत र आशा दिएको छ ।” अध्यक्ष पोख्रेलले आगामी दिनमा पनि गाउँपालिकाले संघ, प्रदेश र विभिन्न संस्थासँग सहकार्य गरेर अझ प्रभावकारी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गरे । मोतियाबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रियाका लागि तिलगंगा आँखा सर्जिकल सेन्टर सिसहनिया देउखुरीमा रिफर गरिने संयोजक मिश्रले जानकारी दिए । त्यसैगरी थप १७ जनाको पनि शल्यक्रिया गरिने भएको छ, आँखामा मासु पलाएका १० जना पुरुष र ७ जना महिलाको सहुलियत दरमा शल्यक्रियाका लागि रिफर गरिएको संयोजक मिश्रले जानकारी दिए ।