पत्रकार खनाल बने सर्प उद्धारकर्ता

राधेश्याम गुप्ता
लमही, १६ भदौँ । देउखुरी क्षेत्रमा सर्पको विगविगी पहिलेदेखि चलिआएको छ । बर्षायाममा सर्पको डसाइबाट कोही समयमा उपचार नपाएर अकालमै ज्यान गुमाउने र कोही उपचार पश्चात् बाँचेका पनि छन् ।

घरमा विषालु वा अविषालु सर्प देखेपछि डरले भाग्ने अवस्थामा अहिले सर्प समातेर जंगलमा छोडेर सकुशल उद्धार गर्न थालिएको छ । पत्रकार समेत रहनु भएका शिवु खनालले अहिले देउखुरी क्षेत्रमा सर्प उद्धारको काम गरिरहनु भएको छ । जसले गर्दा सर्प उद्धारमा सहजता आएको स्थानीयले बताएका छन् । राजपुर गाउँपालिका–३ खरदरिया निवासी पूर्व प्रअ शालिकराम यादवलाई घरभित्रै विषालु सर्पले डसेपछि समयमा उपचार नपाएर उहाँको ज्यान नै गयो । आर्थिक वर्ष ०८१÷८२ मा राजपुर गाउँपालिका क्षेत्रमा सर्पको डसाइबाट चारजनाले ज्यान गुमाएका थिए । इलाका प्रहरी कार्यालय गढवाका अनुसार राजपुर गाउँपालिका वडा नं. १ कठबेरुवा निवासी १६ वर्षीया सुस्मिता रोका, राजपुर गाउँपालिका–१ कटबेरुवा निवासी ३० वर्षीया बेनी रोका, राजपुर गाउँपालिका वडा नं. ३ खरदरिया निवासी ४० वर्षीया तारावती यादवको सर्पदंशका कारण ज्यान गएको थियो । देउखरी क्षेत्रमा हरेक वर्ष यस्ता घटनाहरू दोहोरिने गरेका छन् ।

आइसीयु, भेन्टिलेटर र सर्पदंश उपचार केन्द्रजस्ता आधारभूत सुविधा नहुँदा नागरिकहरूले ज्यान गुमाउनुपरेको छ । देउखुरी क्षेत्रमा सर्पको उद्धार गर्ने शिवु खनाल डिभिजन वन कार्यालय दाङ देउखुरीको प्राविधिक सहयोगमा स्थानीयको घर–घरमा पुगेर विषालु र अविषालु सर्पको पहिचान गरी सकुशल सर्प उद्धार गर्दै आउनु भएको छ । उहाँले सकुशल उद्धार गरेका विभिन्न जातका सर्पलाई संरक्षित प्राकृतिक बासस्थानमा छोड्ने गरेको बताउनुभयो । बैशाखदेखि यता दर्जनौ भन्दा बढी सर्पहरु सकुशल उद्धार गरी संरक्षित प्राकृतिक बासस्थानमा छाडेको खनालले जानकारी दिनुभयो । शिवु खनाललाई देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंंह ठकुरीले सर्प उद्धार सामग्री उपलव्ध गराउनुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *