गढवामा तीन करोडको लागतमा अवधी संग्रहालय निर्माण हुने

आलोक भावुक
गढवा, ९ भदौ । दाङ देउखुरीको गढवा गाउँपालिका–६ मा करिब तीन करोड रुपैयाँको लागतमा अवधी संग्रहालय निर्माण हुने भएको छ ।

शहरी विकास मन्त्रालय तथा शहरी विकास तथा भवन निर्माण विभागमार्फत दाङ क्षेत्र नं. १ मा परेका योजनामध्ये नेपाल अवधी संस्कृति प्रतिष्ठानको भवन/संग्रहालय निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन भइसकेको संघीय सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरीले बताए ।

संग्रहालय निर्माणसम्बन्धी विस्तृत छलफल भदौ ७ गते बसेको नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रीय समिति तथा अवधी समाजका अगुवाहरूसँगको समन्वय बैठकले गरेको थियो। उक्त बैठकमा संग्रहालय निर्माण, सहयोग संकलन, जग्गादाता तथा सहयोगीदातालाई सम्मान गर्ने लगायतका विषयमा छलफल भएको प्रतिष्ठानका कोषाध्यक्ष पटवारी यादवले जानकारी दिए ।
बैठकले गढवा गाउँपालिका वडा नम्बर -६ थानदेउखुरी निवासी समाजसेवी दयाराम यादवले एक कठ्ठा जग्गा दान र थप एक कठ्ठा जग्गा खरिदबिक्री गर्ने शर्तमा दान गर्ने निर्णय गरेको जानकारी दिएको छ । खरिद वापतको रकम सहयोगीदाताबाट संकलन गरी भुक्तानी गरिने र सहयोग रकमअनुसार दातालाई सम्मान गरिने निर्णय गरिएको छ ।

त्यसअनुसार जग्गादाता दयाराम यादव र परिवारले इच्छा गरेअनुसार व्यक्तिको अर्धकद सालिक निर्माण गर्ने, एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताको अर्धकद सालिक संग्रहालय परिसरमा राख्ने, ५० हजार एक रुपैयाँ देखि एक लाखसम्म सहयोग गर्नेको तिन पुस्ते नामथर ताम्रपत्रमा लेख्ने, २० हजार एक रुपैयाँ देखि ५० हजारसम्म सहयोग गर्नेको नाम शिलालेखमा तिन पुस्तेसहित, १० हजार एक रुपैयाँ देखि २० हजारसम्म सहयोग गर्नेको नाम शिलालेखमा दुई पुस्तेसहित, ५ हजार एक रुपैयाँ देखि १० हजारसम्म सहयोग गर्नेको नाम शिलालेखमा एक पुस्तेसहित, २ हजार एक रुपैयाँ देखि ५ हजारसम्म सहयोग गर्नेको नाम भित्ते लेखनमार्फत, १ सय एक रुपैयाँदेखि २ हजारसम्म सहयोग गर्नेको नाम रजिस्टरमा लेखेर सम्मान गर्ने निर्णय गरिएको छ । बैठक नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष राम गोपाल यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अवधी भाषी समाजका अगुवा, समाजसेवी, बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *