हरियाली बिस्तारका लागि लमही-६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

घरसञ्चार
दाङ, लमही । हरित वातावरण संरक्षण तथा स्थानीय क्षेत्रमा हरियाली विस्तार गर्ने उद्देश्यका साथ लमही नगरपालिका–६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

देउपुरको सिसौ बगर स्थित निर्माण हुन थालेको पार्कमा ५० बढि विभिन्न प्रजातीका बिरुवा र फलफुलका बेर्ना रोपिएको हो । लमही नगरपालिकामा गठन भएको युवा छाँया सरकारको आयोजना र लमही-६ नम्बर वडा कार्यालय तथा डिभिजन बन कार्यालयको सहकार्यमा युवाहरुले बृक्षारोपन गरेका हुन् । खाली जमिनलाई व्यवस्थित र उपयोगी बनाउन बृक्षारोपन गरिएको हो । यसबाट वातावरणीय सन्तुलन कायम गर्न, हावापानी प्रदूषण नियन्त्रणमा योगदान पुर्‍याउन, स्थानीय जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न र हरियाली गाउँ सँगै पार्क निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रमुख अतिथि वडाध्यक्ष श्याम नारायण चौधरीले वातावरणीय संकट दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै हरेक व्यक्तिले कम्तीमा पनि एक–एक वटा बिरुवा रोप्ने बानी बसाल्नुपर्ने बताए । उनले वृक्षारोपण मात्र नभई त्यसको संरक्षणमा जोड दिनुपर्नेमा विशेष ध्यानाकर्षण गराउँदै लमही–६ लाई हरित नमुना वडा बनाउन वडा कार्यालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे । युवा छायाँ सरकार लमहीकी अध्यक्ष प्रतीक्षा चौधरीले वातावरण संरक्षणमा महिला, विद्यार्थी र युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् । उनले सबैलाई मिलेर रोपिएका बिरुवाहरूलाई जीवित राख्ने संकल्प गर्न अनुरोध गरिन् ।

सहभागीहरूले आफ्नो अनुभव सुनाउँदै यस किसिमको पहलले भविष्यमा सन्तानलाई हरियाली वातावरण हस्तान्तरण गर्न सहयोग पुग्ने बताए । स्थानीय बासिन्दाले समेत रोपिएका बिरुवाहरूको संरक्षणमा सक्रिय सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै कार्यक्रम मार्फत सरसफाइ र वातावरणमैत्री जीवनशैली अपनाउन आह्वान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *