तिज सामाजिक एकता र पारिवारिक सद्भावको पर्व: उपसभामुख केसी

घरसञ्चार
देउखुरी । लुम्बिनी प्रदेशकि उपसभामुख मेनुका खाँड केसीले हरितालिका तीजलाई महिलाबीचको मेलमिलाप र संस्कृतिको जगेर्नाका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएकि छिन् ।

गुरुकुल एकेडेमी लमहीले आयोजना गरेको तिज मिलन कार्यक्रमलाई संबोधन गर्दै उपसभामुख केसीले तीज केवल नारीको पर्व मात्र नभई सामाजिक एकता र पारिवारिक सद्भावलाई बलियो बनाउने माध्यम भएको बताईन । शिक्षासँगै संस्कृतिलाई पनि भावी पुस्तामा हस्तान्तरण गर्नु विद्यालय र समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले गुरुकुल एकेडेमीले त्यस दिशामा गरेको योगदान प्रशंसनीय रहेको धारणा राखिन । कार्यक्रमकि प्रमुख अतिथी समेत रहेकी उपसभामुख केसीले महिलाको सहभागिता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिईन ।

तीज मिलन कार्यक्रमले नारी सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै उपसभामुख केसीले तीजको मौलिकता जोगाउँदै संस्कृतिलाई भावी पुस्तामा हस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेको धारणा राखिन् । त्यस्तै, विशिष्ट अतिथि लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले महिलाहरुबीच हुने मेलमिलाप, नाचगान र खुसी साटासाटले समाजमा सकारात्मक ऊर्जा प्रवाह हुने बताईन । उनले लमही नगरपालिकाले पनि महिला र बालबालिकाको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिईन ।

तीजलाई नेपाली नारीको महान पर्वका रूपमा लिइन्छ, जसले महिलाबीच आपसी भेटघाट, माया र एकताको अभिवृद्धि गर्ने अवसर दिन्छ । कार्यक्रम विद्यालयका सेयर सदस्य अमिता सिंह ठकुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसीको प्रमुख आतिथ्यता तथा लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका सेयर सदस्य अमिता सिंह ठकुरीले तीजले ल्याउने उत्साह र उमंगबारे प्रकाश पार्दै, विद्यालयले सदैव शैक्षिक गतिविधिसँगै सामाजिक तथा सांस्कृतिक पक्षलाई पनि प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरिन ।

कार्यक्रममा चर्चित गायिका सिम्रण परियार र रेखा पोखरेलको साँगीतिक प्रस्तुतिमा अभिभावक, विद्यार्थी र अतिथिहरू छमछमी नाचेका थिए । तीजका भाका, लोकगीत तथा नृत्य प्रस्तुतिले सम्पूर्ण उपस्थितलाई रमाइलो गराएको थियो । कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकले तीजलाई संस्कृतिको धरोहरका रूपमा जोगाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरूले विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई सांस्कृतिक क्षेत्रमा पनि उदाहरण प्रस्तुत गरेको भन्दै आभार प्रकट गरे । विद्यालय कोर्डिनेटर एलिसा शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका निशा वली र विद्यालयकी लेखापाल बिना सुनारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *