लागू औषध विरुद्ध बिद्यार्थीलाई सचेतना प्रशिक्षण

घरसञ्चार
दाङ । सौडियार स्पोर्ट्स क्लब घोराही ७ सौडियार दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा मङ्गलबार लागू औषध विरुद्ध माबि सौडियारमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप सो कार्यक्रम गरिएको हो । सौडियार स्पोर्ट्स क्लबका अध्यक्ष एन्जस रोकाको अध्यक्षता तथा घोराही उपमहानगर वडा नम्बर ७ का वडा अध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माबि सौडियार बिद्यालयका सल्लाहकार माधव न्यौपाने , मावि सौडियारका प्रधानाध्यापक नन्दबहादुर ओली, विद्याकुञ्ज स्कुल सौडियारका सहायक प्रधानाध्यापक रबिन चौधरी लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । सचेतनामुलक कार्यक्रममा शिक्षकहरुसहित श्री माध्यमिक विद्यालय र विद्याकुञ्ज स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा थियो ।

लागू औषध विरुद्ध सचेतनामूलक कार्यक्रममा प्रहरी नायव निरीक्षक तुल बहादुर बिकले लागु औषधको परिचय, लागू औषध दुर्व्यसनीमा देखिने लक्षणहरु, दुर्व्यसनमा पर्नुको कारण, दुर्व्यसनबाट बच्ने उपाय, लागू औषधको अबस्था, लागू औषध नियन्त्रण गर्न प्रहरीले गरेको प्रयास, कानूनी प्रावधान लगायत विषयमा सचेतनामूलक प्रशिक्षण दिएका थिए । साथै सौडियार आसपास क्षेत्रमा प्रभात फेरि गरिएको थियो ।