देउखुरीको प्रमुख व्यापारिक केन्द्र लमही बजार शनिबार पनि खुला रहने

घरसञ्चार
देउखुरी । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै देउखुरीको प्रमुख व्यापारिक केन्द्र लमही बजार शनिबार पनि खुला रहने भएको छ ।

प्रत्येक हप्ताको शनिबार व्यवसायिक विश्रामका रुपमा बजार बन्द हुने परम्परा रहँदै आएकोमा यस वर्षको चाडपर्वलाई सहज बनाउन देउखुरी उद्योग वाणिज्य संघ लमहीले बजार सञ्चालन गर्ने निर्णय गरेको हो । संघले मंगलबार सूचना जारी गर्दै २०८२ साल भदौ ७ गते शनिबारदेखि बजार खुला रहने र अर्को सूचना जारी नभएसम्म शनिबारको दिन पनि व्यापारिक क्रियाकलाप सञ्चालन हुने जनाएको छ । संघका महासचिव हरि बहादुर थापाले जारी गरेको सूचनामा भनिएको छ, “चाडपर्वलाई लक्षित गर्दै आगामी शनिबारदेखि बजार खुला गरिएको व्यहोरा सम्पूर्ण व्यवसायी तथा उपभोक्ता महानुभावहरुलाई जानकारी गराउँदछौ ।”

यस निर्णयले विशेषगरी दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गर्दा उपभोक्तालाई आवश्यक सामान खरिदमा सहजता दिलाउने र व्यापारीहरुलाई समेत व्यवसायिक अवसर बढाउने अपेक्षा गरिएको छ । विगतमा शनिबार बजार बन्द हुँदा उपभोक्ताले खरिदमा केही असुविधा भोग्दै आएका थिए । लमही बजार लमहीको मात्र नभई राप्ती, गढवा, राजपुरलगायतका पालिकाहरुको प्रमुख गन्तव्य हो । संघले यसअघि पनि चाडबाड नजिकिँदा बजार समय बढाउने वा अतिरिक्त दिनमा सञ्चालन गर्ने निर्णय गर्दै आएको छ । यसपटक पनि शनिबारको दिन बजार खुला गर्ने निर्णयलाई व्यवसायी र उपभोक्ताले स्वागत गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *