एमसिसि परियोजना: धानखोला-लमही सडक चार लेनमा विस्तार गर्न सुझाव

तुलबहादुर कवँर मगर
दाङ, १ भदौ । दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत निर्माण हुने धानखोला–लमही सडक खण्डलाई डिभाइडरसहित चार लेनमा विस्तार गर्न सुझाव दिएका छन् ।
आइतबार दाङको भालुबाङमा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका प्रमुख वित्तीय अधिकृत निर्मल खतिवडा र सञ्चार विज्ञ सविन मिश्रसँग भएको छलफलमा उहाँहरूले प्रदेश राजधानी क्षेत्र भएकाले दुई लेनमा सीमित सडक पर्याप्त नहुने उल्लेख गर्दै योजनामा आवश्यक संशोधन गर्नुपर्ने धारणा राखे । छलफलमा सांसद चौधरीले सडक पूर्वाधार दीर्घकालीन सोचका साथ निर्माण हुनुपर्नेमा जोड दिए । उनले भने, “सडक पूर्वाधार निर्माण गर्दा कम्तीमा ५० वर्षलाई लक्षित गर्नुपर्छ । दुई लेन मात्र भए दुर्घटनाको जोखिम अझ बढ्छ । त्यसैले डिभाईडर सहित चार लेन सडक आवश्यक छ । यसले सुरक्षा मात्र होइन, सौन्दर्य पनि बढाउँछ ।” साथै, उहाँले यस क्षेत्रमा पर्ने प्रमुख बजारहरूमा आकाशे पुलको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए ।
त्यस्तै, गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शहरी मापदण्डअनुसार सडक विस्तार गर्नुपर्नेमा जोड दिए । उनले भने, “सडकमा डिभाइडर नहुँदा दैनिकजसो दुर्घटना बढिरहेका छन् । अहिले नै चार लेनको व्यवस्था नगर्ने हो भने दुर्घटनाको जोखिम झन् बढ्छ।हामीले सुरुदेखि नै भन्दै र सुझाव दिदै आई रहेका छाैं । यस क्षेत्रको आवश्यकता र स्थानीयको चाहना डिभाइडरसहितको चार लेनकै भएकाले यसलाई सम्बोधन गर्नुपर्छ,अन्यथा निर्माण प्रक्रियामा समस्या आउन सक्छ ।” एमसिए नेपालका प्रतिनिधिहरूले भने सडक निर्माण योजना सरकारद्वारा तोकिएका मापदण्ड, सवारी चाप र जनघनत्वको आधारमा तयार गरिएको जानकारी दिए । उनिहरुका अनुसार करिब ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्डलाई फुल डेप्थ रिक्लेमेसन (एफडिआर) र सुपर पेभ प्रविधिबाट मर्मत गरिँदै छ । नेपालमै पहिलो पटक प्रयोग हुन लागेको यस प्रविधिबाट पुराना क्षतिग्रस्त संरचना पुनः प्रयोग गरी बलियो, टिकाउ र वातावरणमैत्री सडक बनाउन सकिने दाबी गरिएको छ ।
योजनाअनुसार हालको सडकलाई १२ मिटर चौडाइमा विस्तार गरिनेछ । जसमा ७ मिटर भागलाई आधुनिक प्रविधिबाट कालोपत्रे गरिने र दायाँबायाँ २.५–२.५ मिटर सामान्य कालोपत्रे हुनेछ । करिब २ करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यो सडक निर्माणको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको र काम सुरु भएपछि कम्तीमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको बताइएको छ । एमसिए नेपालका प्रतिनिधिहरूले छलफलमा उठेका विषयहरू कार्यालय प्रमुखसम्म पुर्याउने र थप समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।