सशस्त्र र नेपाल प्रहरीद्वारा रतन नाथ (गोरक्ष) मन्दिर परिसरमा सरसफाई

शिवु खनाल
देउखुरी, ३१ साउन । शान्ति–सुरक्षा, सीमा रक्षा, मात्र नभई सामाजिक एवं धार्मिक कार्यमा पनि सशस्त्र प्रहरी बल नेपाल सदैव अग्रपंक्तिमा छ भन्ने सन्देशका साथ सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखोला र वडा प्रहरी कार्यालय लमहीले हिन्दुरहरुको ‘श्रीकृष्णजन्माष्टमी’ पर्वको अवसरमा प्रसिद्ध गोरक्ष मन्दिरको सरसफाई गरेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ ।
शनिवार विहान ‘श्रीकृष्णजन्माष्टमी’ पर्वको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखोलाका सशस्त्र प्रहरी निरिक्षक सन्तोष डाँगीको नेतृत्वमा चालिस जनाको समूह र वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरिक्षक मनोहरलाल चौधरीको कमाण्डमा दशजना प्रहरीको समूहले मन्दिर परिसर र क्षेत्रमा सरसफाई गरेका हुन् ।

सो कार्यक्रममा गोरक्ष टोल विकास संस्थाका अध्यक्ष लिलबहादुर रोका, पूर्व उपाध्यक्ष सुदन केसी, लगायत संस्थाका पदाधिकारी, पत्रकार शिवु खनाल, श्रवण कुमार यादव, दिनेश रैदासको सहभागिता रहेको थियो । मन्दिर सरसफाइबाट सो क्षेत्रको सौन्दर्यकरण र वातावरणीय शुद्धतामा समेत सकारात्मक टेवा पुग्ने देखिएको छ । शान्ति सुरक्षामा मत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र र नेपाल प्रहरीले आफुलाई अन्य सामाजिक कार्यमा सक्रिय बनाउँदै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखोलाका प्रमुख अर्जुन खत्रीले हाम्रो सेवा भनेको मानव सेवा हुँदै सामाजिक सेवा र राष्ट्रको रक्षामा समर्पित रहेको बताए । उनले प्रहरीको सेवा भित्र नै रहेर काम गर्दै अगाडि बढेको बताए । उनले भने,–। ‘सार्वजनिक स्थल मठ–मन्दिरमा सरसफाई गर्नु पनि हाम्रो सेवा नै हो, तसर्थ ‘श्रीकृष्णजन्माष्टमी’ पर्वको अवसरमा गोरक्ष मन्दिर परिसरको सरसफाई गरेका हौं ।’
गोरक्ष टोल विकास संस्थाका अध्यक्ष लिलबहादुर रोकाले सशस्त्र र नेपाल प्रहरीले सामाजिक सेवामा देखाएको सक्रियता प्रशंसनीय रहेको बताए ।।