गुगल, फेसबुक लगायत १७ कम्पनीको नेपालमा वार्षिक ३ अर्ब २८ करोड रूपैयाँको कारोबार

घरसञ्चार


काठमाण्डौ । गुगल, फेसबुक, इन्स्टा, माइक्रोसफ्ट लगायतका विदेशी डिजिटल सेवा प्रदायक कम्पनीहरूले गर्ने कारोबारमा सुधार देखिएको छ ।

यी कम्पनीले कारोबारको आधारमा सरकारलाई १३ प्रतिशत मूल्य अभिवृद्धिकर र आयको आधारमा दुई प्रतिशत डिजिटल सेवा कर (डिएसटी) उपलब्ध गराउने गरेका छन् । यस आधारमा यी कम्पनीहरूको कारोबारमा सुधार आएको देखिएको छ। हालसम्म १९ वटा कम्पनी डिजिटल कारोबार गर्ने प्रयोजनार्थ करमा दर्ता भएको पाइएको छ । यसमध्ये टिकटक २०८१ कात्तिकमा स्थायी व्यापारिक उपस्थिति (पिई) को रूपमा दर्ता भएपछि गत वर्ष डिजिटल सर्भिस ट्याक्सबाट बाहिरिएको थियो । टिकटकले अब अन्य कम्पनी सरह आयकर र मूल्य अभिवृद्धिकर तिर्ने गर्छ । त्यस्तै एनसिएस पर्सन नामक कम्पनी दर्ता भएर पनि कुनै कारोबार नभएको अर्थात् कर नबुझाएको देखिएको छ ।

पछिल्लो आर्थिक वर्षसम्म विदेशी डिजिटल सेवा प्रदायक कम्पनीहरूका रूपमा १८ वटा कम्पनीले डिजिटल सर्भिस ट्याक्स र मूल्य अभिवृद्धिकर बुझाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूले ४२ करोड ६५ लाख रूपैयाँ मूल्य अभिवृद्धिकर बुझाएका छन् । यस्ता डिजिटल सेवा प्रदायक कम्पनीले आफूले गर्ने मासिक कारोबारको आधारमा १३ प्रतिशतका दरले मूल्य अधिवृद्धिकर बुझाउने गर्छन् । यसको अर्थ गत वर्ष यी कम्पनीको करोबार ३ अर्ब २८ करोड रूपैयाँ भएको कर कार्यालयका अधिकारीहरू बताउँछन् । त्यस्तै, वार्षिक आयकरका आधारमा दुई प्रतिशत डिजिटल सेवा कर बुझाउने गर्छन् ।

आर्थिक वर्ष २०८०/८१ मा डिजिटल सेवा सबैभन्दा बढी कर बुझाउनेमध्ये टिकटकसहितको सेवा प्रदायकले ३५ करोड ८५ लाख रूपैयाँ मूल्य अभिवृद्धिकर बुझाएका थिए । गत वर्ष टिकटक पिईका रूपमा दर्ता भएपछि पनि आर्थिक वर्ष २०८०/८१ को तुलनामा कारोबार १९ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ५९ लाख रूपैयाँ डिएसटी बुझाएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ६ लाख रूपैयाँ बुझाएका थिए । आर्थिक वर्ष २०८१/८२ को डिएसटी बुझाउने समय असोज मसान्तसम्म छ । विगतको तुलनामा यस्तो आय बढेको कारण पनि कर बढ्ने अनुमान कर कार्यालयका अधिकारीहरूको छ । सरकारले आर्थिक वर्ष २०७९/८० बाट यस्ता सेवा प्रदायकको कम्पनीलाई कर प्रयोजनाको लागि दर्ता हुन र कारोबारमा मूल्य अभिवृद्धि करका साथै डिजिटल सेवा कर बुझाउनु पर्ने व्यवस्था गरेको थियो।

आर्थिक वर्ष २०७९/८० मा नौ वटा, आर्थिक वर्ष २०८०/८१ मा थप नौ वटा र आर्थिक वर्ष २०८१/८२ मा थप एउटा कम्पनी दर्ता भएको थियो । यी हुन् सबैभन्दा बढी भ्याट बुझाउने कम्पनी विदेशी डिजिटल सेवा प्रदायक कम्पनीहरूमा गत वर्ष सबैभन्दा बढी भ्याट बुझाउने कम्पनीमा गुगल एसिया प्यासिफिक, इब्स्को इन्टरनेशनल इंक, माइक्रोसफ्ट रिजनल सेल्स, नेटफ्लिक्स र एशोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स कम्पनी छन् । गत वर्ष ४२ करोड रूपैयाँको भ्याटमा यी ५ कम्पनीले मात्रै करिब ३३ करोड रूपैयाँ भ्याट बुझाएका छन् । यस हिसावले नेपालमा हुने यस्तो कारोबारमा उल्लेखित ५ कम्पनीको कारोबार मात्रै ७८ प्रतिशत हिस्सा रहेको कर विवरणले देखाएको छ ।

यी मध्येमा पनि एकै कम्पनीले २० करोडसम्मको भ्याट बुझाएको छ। यसको अर्थ एउटै कम्पनीको करिब ४७ प्रतिशत हिस्सा देखिएको छ । गुगल एसिया प्यासिफिक सर्च इन्जिन, विज्ञापन, नक्सा र क्लाउड कम्प्युटिङ सम्वन्धी काम गर्ने डिजिटल सेवा प्रदायक हो । इब्स्को इन्टरनेशनल इंक पुस्तकालयका लागि शैक्षिक डाटाबेस, विद्युतीय जर्नल र अन्य डिजिटल स्रोतहरू सम्बन्धी सेवा दिने सेवा प्रदायक हो । माइक्रोसफ्ट रिजनल सेल्स अपरेटिङ सिस्टम (विन्डोज), क्लाउड सेवा र सफ्टवेयर सम्बन्धी सेवा दिने डिजिटल सेवा प्रदायक हो ।

नेटफ्लिक्स चलचित्र र टिभी कार्यक्रमहरूको स्ट्रिमिङ सेवा दिने सेवा प्रदायक हो । एशोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स लेखासम्बन्धी योग्यता र अनलाइन प्रशिक्षण दिने सेवा प्रदायक हो ।
डिजिटल सेवाको लागि हालसम्म दर्ता भएका कम्पनीहरूका इब्स्को इन्टरनेशनल इंक, लिंक्डइन सिंगापुर, अमेजन डटकम, माइक्रोसफ्ट रिजनल सेल्स, गुगल आयरल्यान्ड, एनसीएस पियर्सन, गुगल एसिया प्यासिफिक छन् । त्यस्तै, फेसबुक, इन्ष्टाको कम्पनी मेटा प्लेटफर्मस आयरल्यान्ड, एडोबी सिस्टम्स सफ्टवेयर आयरल्यान्ड, जोहो कर्पोरेशन, पियर्सन एजुकेशन, गुगल डिजिटल इंक, एप्पल डिस्ट्रिब्युसन इन्टरनेशनल, प्रोमेट्रिक जापान, नेटफ्लिक्स र एप्पल सर्भिस छन् । नेपालमा डिजिटल कारोबार गरिरहेका केही कम्पनीहरू अझै पनि दर्ता भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *